दुबाई(यूएई), २१ फागुन । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत युनाइटेड अरव इमिरेट्स (युएई)मा भैरहेको त्रिदेशीय श्रृखला अन्तरगतको भोलिको अन्तिम खेलमा नेपालका ओपनर तथा शीर्ष ब्याट्स्म्यान कुशल भूर्तेल टिममा नरहने भएका छन् ।
नेपाल क्रिकेट एशोसिएसनले उनको बायाँ खुट्टाको ग्रोइन समस्या पुन बल्झिएकोले कुशलको सट्टामा सन्दीप जोरालाई राख्ने निर्णय भएको जनाएको छ ।
कुशलले गत बुधबार ग्रोइन समस्याको कारण टोलीको अभ्यास गरेका थिएनन् । त्यसपछि कुशल बिहीबार युएईसँग पाँच र पपुवा न्युगिनीसँग रोयल डक आउट भएका थिए । पूर्ण रुपमा फिट नभएपनि खेल्ने प्रयास गरेका कुश सफल हुन सकेनन् ।
यूएई सेरिजमा कुशल भूर्तेल पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध ५५ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए । त्यसपछिका दुर्ई खेलमा उनको प्रदर्शन बिग्रनुमा बायाँ खुट्टाको ग्रोइन समस्या बल्झनु रहेको थियो ।
कुशलले दुई साता अघि नामिबियालाई हराउन १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।
उनको शतकको सहयोगमा नेपालले आफ्नो ओडिआई इतिहासकै सर्वाधिक ठूलो २ सय ८६ रनको विजयी लक्ष्य पूरा गर्न सफल भएको थियो । त्यसपछि भने कुशल स्कटल्यान्डसँग १६ रनमा आउट भएका थिए । नामिबिया र स्कटल्यान्डसँग एक एक रनमा आउट भएका थिए ।
कुशलको स्थान ग्रहण गर्ने सन्दीप जोरा नेपाली टोलीमै भएपनि अन्तिम १४ जना खेलाडीको सूचिमा थिएनन् ।
कुशल आउट भएपछि नेपालले ओपनरको रुपमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखलाई मैदानमा उतार्ने बताइन्छ ।
आसिफले पपुवा न्युगिनीलाई हराउन ८६ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
सन्दीप जोरालाई प्लेइङ ११ मा सामेल भएमा तल्लोक्रमको ब्याटिङ रहने देखिन्छ ।
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ मा नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । शीर्ष ५ मा पर्दै सोझै ओडीआई मान्यता जोगाउन नेपालले बाँकी ५ मध्य ३ खेल जित्नुपर्ने हुन्छ ।
यूएई श्रृखलापछि नेपालले ९ मार्चदेखि घरेलु मैदानमा युएई र पपुवा न्युगिनीसँग सिरिज खेल्नेछ ।
कुशल घरेलु मैदानसम्मको खेलमा फिट हुने अनुमान गरिएको छ ।


















