Prakash Adhikari March 5, 2023

 

धनगढी(कैलाली), २१ फागुन । आज सुदूरश्चिममा मुख्य मन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यक्रम रहेको छ।

केन्द्रमा बनेको सत्ता गठबन्धनका दलहरुबीच सुदूरपश्चिममा सत्ता भागवण्डामा अन्तिम समझदारी हुन बाँकी रहेकोले विश्वासको मत लिने दिन सर्न सक्ने अवस्था पनि छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरू माओवादी केन्द्र र नागरिक उन्मुक्तिले विश्वासको मत अगाडि सत्ता बाँडफाँटको टुंगो लाग्नु पर्ने शर्त राखेका छन् ।

माओवादी केन्द्रले विश्वासको मत अगावै मुख्यमन्त्रीसहित मन्त्रालय, संसदीय समिति लगायतको ‘पावर सेयरिङ’ प्याकेजमै टुंगो लगाउनु पर्ने माग राखेको छ।

माओवादीले सत्ताको नेतृत्वको आलोपाली सहित भौतिक पूर्वाधार विकास मन्त्रालय लगायत महत्वपूर्ण तीन मन्त्रालय दिनुपर्ने माग छ।

अहिले नेकपा एकीकृत समाजवादीका नरेश शाही आर्थिक मामिला तथा योजना र कांग्रेसका प्रकाश देउवा भौतिक पूर्वाधार मन्त्री हुनुहुन्छ।

आज माओवादी केन्द्रले फेरि संसदीय दलको बैठक बोलाएको छ।

गठबन्धनको अर्को घटक नागरिक उन्मुक्तिले विश्वासको मतका लागि पुरानै अडान राखेको छ।

टीकापुर घटना दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका संरक्षक रेशम चौधरी रिहाइ उन्मुक्तिको ‘बटम लाइन’ छ।

उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले लिखित सहमतिबिना विश्वासको मत नदिने बताएकी छन्।

उन्मुक्तिले यसअघि समर्थन गरेको एमाले नेतृत्वको सरकारलाई पनि विश्वासको मत दिएको थिएन।

२७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल विश्वासको मत नपाउँदा २९ दिनमै पदमुक्त हुनुभएको थियो।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।

सरकार गठन भएको एक महिनाभित्र संसदबाट विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ।

सोही अनुसार आइतबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गर्नुभएको छ। तर गठबन्धनकै दुई घटक माओवादी र उन्मुक्तिले विश्वासको मत नदिँदा सरकार ढल्ने भएकोले राजनीतिक समझदारी कायम गर्न विश्वासको मतको कार्यक्रम सर्ने संभावना पनि उत्तिकै छ ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ साँसदको आवश्यकता पर्दछ।

कांग्रेसका १९, माओवादीका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन्। प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र १ ।१ सांसद छन्।

Share Now

Leave a comment.