काठमाडौं, २५ फागुन । संघीय गणतन्त्र नेपालका नयाँ राष्ट्रपति चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ। मुलकमा गणतन्त्र स्थापनापछि चौथो कार्यकालको लागि आज तेस्रो राष्ट्रपति चयन हुन लागेको हो।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभएको छ।
मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ। मतदान कार्य सम्पन्न हुनासाथ मतगणना कार्य सुरु हुने र आजै साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी अघि बढाएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभएको छ।
संघीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ। मतदान केन्द्रका १४ जना कर्मचारी खटिएका छन्।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन मतदान स्थलमा क्यामेरा, मोवाइल, प्रज्वलनशील पदार्थ र हातहतियार लैजान निषेध गरिएको छ। महिला र पुरुष मतदाताको लागि बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो।
राष्ट्रपति निर्वाचनमा संघीय सांसद ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० जना मतदाता छन्। मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ। राष्ट्रपति निर्वाचनमा मतदान गर्न सबै मतदाता काठमाडौं पुगिसकेका छन्।
राष्ट्रपति निर्वाचित हुन कुल मतको ५० प्रतिशत मतभार कटाउनु पर्ने कानुनी व्यवस्था छ।
कुनैपनि उम्मेदवारले ५० प्रतिशत मतभार कटाउन नसके पुनः मतदान गराउनुपर्ने कानुनी व्यवस्था छ। तर, यो निर्वाचनमा दुईजना मात्रै उम्मेदवार भएकाले पहिलोपटक नै एक उम्मेदवारले ५० प्रतिशत मतभार कटाउने अनुमान गरिएको छ।
निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्थासमेत मिलाइएको छ।
निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ।
निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिनुभएको छ।
निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सातजनाको कर्मचारीको टोली खटिनेछ।
राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार हुनुहुन्छ भने नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ ।
नयाँ राष्ट्रपतिलाई आजै प्रमाणपत्र प्रदान गरिने छ। नयाँ राष्ट्रपतिको सपथ र ग्रहण र पुरानो राष्ट्रपतिको बिदाइ भने २९ फागुनमा हुनेछ।
यस्तो छ अंकगणित
निर्वाचनमा प्रतिनिधि सभा सदस्य २ सय ७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५ सय ५० गरी कुल मतदाता संख्या ८ सय ८४ हुन्छ। राष्ट्रपति चुनावमा प्रतिनिधि तथा राष्ट्रिय सभा सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ तय गरिएको छ।
संघीय संसदका सदस्यहरुको मतभार २६ हजार ३ सय ८६ र प्रदेश सभा सदस्यहरुको २६ हजार ४ सय ४० गरी जम्मा मतभार ५२ हजार ७ सय ८६ छ। राष्ट्रपतिको चुनाव जित्न कम्तीमा ५० प्रतिशत मतभार ल्याउनै पर्छ।
प्रतिनिधि सभामा ८९ र राष्ट्रिय सभामा १० सिट रहेको सबैभन्दा ठूलो दल कांग्रेसको ७ हजार ८ सय २१ मतभार छ। कांग्रेसका १ सय ७५ प्रदेश सभा सदस्यको मतभार ८ हजार ४ सय हुन्छ। यसरी कांग्रेसबाट राष्ट्रपति उम्मेदवारलाई खस्ने कुल मतभार १६ हजार २ सय २१ छ।
७८ जना प्रतिनिधि सभा र १५ जना राष्ट्रिय सभा सदस्य रहेको एमालेको ७ हजार ४ सय २६ मतभार छ। १ सय ६१ प्रदेश सभा सदस्य जितेकोले त्यसको ७ हजार ७ सय २८ प्रदेश मतभार हुन्छ। एमालेको कुल मतभार १५ हजार १ सय ५४ छ।
सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग प्रतिनिधि सभामा ३२, प्रदेश सभामा ८३ र राष्ट्रिय सभामा १५ सांसद छन्। यस आधारमा माओवादी केन्द्रको मतभार ७ हजार ६ सय ९७ हुन्छ।
एकीकृत समाजवादीको २ हजार ५ सय ७४, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५ सय ८०, जसपाको २ हजार १ सय ४५, राप्रपाको २ हजार ४ सय ५० र जनमत पार्टीको १ हजार २ सय ४४ मतभार छ। त्यस्तै, स्वतन्त्र सांसदको १ हजार २, लोसपाको ९ सय ७१, नागरिक उन्मुक्ति पार्टीको ८ सय १३, राष्ट्रिय जनमोर्चाको २ सय ६ र नेमकिपाको २ सय २३ मतभार छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल आठ दलिय नयाँ गठबन्धनका उम्मेद्वार रहनुभएकोले उहाँको विजय निश्चित जस्तै छ ।


















