कीर्तिपुर (काठमाडौं), २५ फागुन । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक अन्तर्राष्ट्रिय एकदिवसीय श्रृखला अन्तरगत नेपालमा जारी अन्तिम श्रृखला अन्तरगत भएको खेलमा नेपालले पपुवा न्यु गिनीलाई २ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले ५० ओभरको निर्धारित खेल ४९.१ ओभरमा सबै विकेट गुमाउदै २ सय ९७ रन जोडेको थियो।
नेपालको लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले सर्वाधिक १ सय १० रनको योगफल तयार पारे । उनले यस क्रममा एक दिवसीय खेलमा एक हजार रन पूरा गरेको रेकर्ड कायम गरे भने एक दिवसीय खेलमा पहिलो शतक कायम गरेको रेकर्ड पनि बनाए । उनले १ सय १० बलमा १२ चौका र २ छक्काका मद्दतले १ सय १० रन जोडेका थिए । अर्का ओपनर कुशल भूर्तेलले खेलमा ४५ रनको योगदान गरे । खेलमा कप्तान रोहित पौडेल ३०, आरिफ शेख १५, ज्ञानेन्द्र मल्ल ११, करण केसी ८ र कुशल मल्ल २ रनमा क्याच आउट भए।
दिपेन्द्र सिंह ऐरि ७ रनमा रनआउट भए। सन्दीप लामिछाने ७ रन जोडे भने भीम सार्की ४४ रनमा क्याच आउट भए । सोमपाल कामी ४ रनमा नटआउट रहे।
नेपाललाई रोक्ने क्रममा पीएनजीका सिमो कामिया एक्लैले ५ विकेट लिए। त्यस्तै रिले हेकुरे ३ र अलेई नाओले १ विकेट लिएका थिए ।


















