Prakash Adhikari March 9, 2023

 

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट हेर्न नभ्याउनेमा पुगेर स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको सो रिट परेकामा हेर्न नभ्याउने भएकोले स्थगित भएको जनाइएको छ ।

उक्त रिटबारे शुक्रवारका लागि पेसी तोकिएको छ । आजको मुद्दामा प्रधानमन्त्री दाहाल नै उपस्थित हुनुपर्ने थियो । राष्ट्रपतिको निर्वाचनका कारण अदालतमा उपस्थित हुने सम्भावना कम भएपछि उक्त मुद्दालाई हेर्न नभ्याउनेमा राखेर स्थगित गरिएको हो ।

२०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताउनुभएको थियो।

सो अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायत सशस्त्र द्धन्द्धका पीडितले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

उक्त रिट यसअघि अदालत प्रशासनबाट दरपीठ भएको थियो । तर न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले गत शुक्रवार दरपीठको आदेश बदर गरेपछि गत मंगलवारमात्रै अदालतमा रिट दर्ता भएको हो ।

तत्कालीन माओवादीसँग जोडिएका नेताहरुले भने यो रिटको विरोध गरिरहेका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री दाहाललाई आज बिहान १० बजे उपस्थित हुने गरी पर्चा जारी गरेको थियो ।

Share Now

Leave a comment.