Prakash Adhikari March 10, 2023

संखुवासभा, २६ फागुन । नेपाल भ्रमणमा रहनुभएकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो प्यासिफिक) एनेम्यारी ट्रेवेलियनले बिहीबार संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाटको अरुण ३ जलविद्युत परियोजनाको अवलोकन भ्रमण गर्नुभएको छ।

उहाँले परियोजनाको विद्युत उत्पादन गृह स्थल तथा ट्रान्सफर्मर बेको अवलोकन गर्दै नेपालले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनका क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गर्नेतर्फ मुखरित रहेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।

मन्त्री ट्रेवेलियनले नेपालले जलविद्युत उत्पादनमा नेपालको तुलनात्मक र प्रतिस्पर्धी लाभको चर्चा गर्दै स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रीय व्यापारबाट कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो।

अरुण ३ जलविद्युत परियोजना भारतीय विकासकर्ता कम्पनी सतलज जलविद्युत निगम( एसजेभीएन)को मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्रा. लि. मार्फत विकास भइरहेको छ।

परियोजनाको उत्पादनतर्फको हालसम्मको भौतिक प्रगति करिब ६१.२ प्रतिशत छ । विकासकर्ता स्वयंले परियोजना विद्युत गृहदेखि भारतको सीतामढीसम्म ४०० केभी क्षमताको कुल २५३ किमी लामो अन्तर्देशीय प्रसारणलाइन निर्माण गरिरहेको छ र सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

राष्ट्रिय महत्वका पूर्वाधार परियोजनामा सार्वजनिक(निजी साझेदारीमा लगानी जुटाउने तथा विकास गर्ने नोडल एजेन्सीको रूपमा रहेको लगानी बोर्डको क्षमता विकास तथा संस्थागत सुदृढीकरणमा विगत लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आएको बेलायत सरकारले उक्त प्राविधिक सहयोगलाई निरन्तरता दिने उल्लेख गरेको छ ।

परियोजनास्थल भ्रमणका क्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण ३ जलिवद्युत परियोजना नेपालमा ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण कोशेढुंगा रहेको उल्लेख गर्नुभयो।

भट्टले लगानी बोर्डले कोभिड १९ महामारीको कठिन समयमा पनि परियोजना कार्यान्वयन जारी राख्‍न आवश्यक सबै सहजीकरण गरेको बताउनुभयो। उहाँले लगानी बोर्डलाई मित्रराष्ट्र बेलायतले दिदैं आएको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले नेपालमा निर्माणाधीन र निर्माणका लागि गृहकार्य अघि बढाइएका ठूला जलविद्युत परियोजनाहरूले यस क्षेत्रको विद्युतको माग सम्बोधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै क्षेत्रीय विद्युत व्यापारलाई सार्थक बनाउन दक्षिण एसियाली देशहरूबीच अन्तर्देशीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

उच्चस्तरीय भ्रमण टोलीलाई एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी (प्रा) लि .का प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले स्वागत गर्नुका साथै परियोजनाको प्रगति सम्बन्धमा बताउनुभएको थियो ।

अरुण ३ जलविद्युत परियोजनास्थल उच्चस्तरीय भ्रमण टोलीमा माननीय राज्यमन्त्री ट्रेवेलियनसहित नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिट, एफसीडीओ डेभलपमेन्ट डाइरेक्टर पीपा बर्ड, लगानी बोर्ड नेपाल तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

 

Share Now

Leave a comment.