काठमाडौं, २८ फागुन। त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभरका क्याम्पसमा शनिवार उत्साहजनक उम्मेद्वारी परेको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरुमाथि दाबी बिरोधको उजुरी दर्ता गर्ने कार्यक्रम छ।
त्रिभुवन विश्वबिद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजे देखी अपरान्ह २ बजेसम्म उम्मेदवारमाथी दाबी बिरोध गरी सक्नुपर्नेछ।
शनिवार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी बिरोध गर्नुपर्ने त्रिभुवन विश्वबिद्यालयले जनाएको छ।
सो दाबी बिरोध पछि भोलि ५ बजेसम्म छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा यही चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।
उत्साहजनक उम्मेदवारी
त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उत्साहजनक रुपमा उम्मेदवारी भएको छ।
शनिबार उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले छिटफुट क्याम्पसमा बाहेक देशभरि नै सबै क्याम्पसमा उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो।
“देशभरिका क्याम्पसमा उत्साजनक रुपमा उम्मेदवारी दर्ता भएका छन्” उहाँले भन्नुभयो ।
विद्यार्थी सङ्गठनहरु आआफ्नो ब्यानरसहित उम्मेदवारी दर्ता गराउन क्याम्पसमा पुगेका थिए। स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनहरुले प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गराएका छन्।
शनिबार बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म स्ववियु निर्वाचनमा विद्यार्थी सङ्गठनका तर्फबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन्। अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन्।
निर्वाचनमा २८ वर्षे उमेर हद बन्दी कायम गरिएको छ। प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार विसं २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार बन्न पाउने छन्।
निर्वाचनका लागि कार्यतालिका प्रकाशन भएसँगै भर्ना र सेमेष्टरतर्फ एक हप्ताअघि नै भर्ना प्रक्रिया रोकिएको थियो। त्रिविले यसअघि पटकपटक निर्वाचन घोषणा गरे पनि विद्यार्थी सङ्गठनबीच भएको विवादले निर्वाचन हुन सकेको थिएन।
प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुनसकेको छैन। विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो।
निर्देशनालयका निर्देशक अधिकारीका अनुसार शनिवार मनोनयन पत्र दर्ता गराएका प्रत्यक्षतर्फका उम्मेदवारको नाम नामावली सोही दिन प्रकाशन गरिएको छ।
निर्वाचन कार्यतालिका अनुसार त्रिविले आज उम्मेद्वारमाथि दावी विरोध गर्ने कार्यक्रम राखेको छ भने
उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि फागुन २८ गते बेलुका ५ बजे नामावली प्रकाशन गरिने छ । फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नामा फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ।
स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ।
त्रिविमा २०१८ । १९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो । सुरुका वर्षमा प्रत्येक वर्ष निर्वाचन हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुईदुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ । त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको हो । जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति, उपसचिव र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुनेछन् ।
१८ क्याम्पसमा क्रान्तिकारी निर्विरोध
आसन्न स्वत्रन्त्र विद्यार्थी युनियनको निर्वाचनमा १८ वटा क्याम्पसमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन्।
अखिल क्रान्तिकारीका नेता दिपेश पुनका अनुसार शनिबार साँझसम्म भएको उम्मेदवारी दर्ताको क्रममा १८ वटा क्याम्पसमा सो संगठनका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।
पुनले सार्वजनिक गरेको सूची अनुसार उल्लेखित कलेजमा क्रान्तिकारीका उम्मेदवार निर्विरोध विजयी भएका हुन्।
१. सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्लामा सन्तोष आचार्य
२. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिममा किरण विश्वकर्मा
३. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिममा वीरभान भण्डारी
४. सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिममा निराजन केसी
५ . चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगुमा मनसुर कार्की
६. बन्गाड क्याम्पस, सल्यानमा अजय बिष्ट
७. फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यानमा वरुण न्यौपाने
८. लिकु संयुक्त क्याम्पस, डोल्पामा रनचन्द्र शाही
९. जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पसमा जागेश्वर थापा
१०. गुराँस बहुमुखी क्याम्पस, बर्दियामा सन्जोग श्रेष्ठ
११. चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मीमा प्रभा पौडेल
१२. मरिण बहुमुखी क्याम्पस, सिन्धुलीमा विज्ञान दोर्जे बल
१३. सुनकोसी क्याम्पस, सिन्धुलीमा विनिता न्यौपाने
१४. शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुलीमा गोविन्द पहाडी
१५. गोरखा क्याम्पस, गोरखामा विष्णु पाण्डे
१६. कंकलिङ क्याम्पस, सिन्धुपाल्चोकमा लक्ष्मण घिसिङ
१७. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोकमा अमृत श्रेष्ठ
१८. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङमा सीता तिमल्सिना