Prakash Adhikari March 12, 2023

काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने प्रवृत्तिको प्रतिवाद जरुरी रहेको बताउनुभएको छ।

माओवादी धारका पार्टीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले अग्रगमन र प्रतिगनबीचको लडाइँ पेचिलो बन्दै गएकाले शान्ति सम्झौता विपरीतका गतिविधि देखा पर्न खोजेको बताउनुभयो। देशमा विद्यमान समस्या समाधानका लागि आफूहरू मात्रै नभई यससँग सरोकार राख्ने सबैको साझा प्रयास जरुरी रहेको उहाँको भनाइ छ।

नेपाल समाजवादी पार्टीका उपाध्यक्ष हिसिला यमीले विस्तृत शान्ति सम्झौताको मर्मविपरीतका गतिविधि देखिएकाले आफूहरू एकै ठाउँमा आइपुगेको बताउनुभयो। उहाँले अन्तरिम संविधान, शान्ति सम्झौता र दोस्रो जनआन्दोलन तथा विगतमा भएको सहमतिको बर्खिलापका गतिविधिकाविरुद्ध आफूहरू एकै ठाउँमा उभिएको बताउनुभएको छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) का अध्यक्ष कर्णजीत बुढाथोकीले माओवादीमाथिको आक्रमण नेपाली जनतामाथिको आक्रमण भएको बताउनुभयो। उहाँले एजेण्डाका आधारमा अब सबै माओवादी शक्ति एकै ठाउँमा आउने र पार्टी एकता गर्ने बताउनुभयो।

“अविलम्ब कानुन बनाइ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न हामी सरकारसँग विशेष माग गर्दछौँ”, संयुक्त अपिलमा भनिएको छ, “शान्ति सम्झौता र त्यसलाई आफ्नो अभिन्न अङ्ग मानेको नेपालको संविधानले द्वन्द्वकालीन घटनाको निरूपण गर्ने जिम्मेवारी सत्य निरूपण तथा मेलमिलाप आयोगलाई दिइएको छ। यो ऐतिहासिक सन्दर्भ र संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने तथ्य पनि स्पष्ट छ।”

वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलालले राष्ट्रिय स्वाधीनतामाथि चौतर्फी आक्रमण भएको उल्लेख गर्दै मुस्ताङमा बौद्ध कलेज खोल्ने विषयमा आइरहेको प्रचार त्यसैको उपज भएको बताउनुभयो। विस्तृत शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दालाई सत्य निरूपण तथा मेलमिलाप आयोगले टुङ्गो लगाउने भनिए पनि नियमित अदालतमा लैजाने विषय आफैमा मिल्दो नभएको बताउनुभयो।

Share Now

Leave a comment.