Prakash Adhikari March 13, 2023

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ।

राष्ट्रपतिको कार्यालयले पौडेलको शपथको समय दिउँसो १ बजेको लागि निर्धारण गरेको छ।

राष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहणको तयारी गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभएको छ।

नवनिर्वाचित राष्ट्रपति पौडललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने कार्यक्रम छ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

हाल सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीन भएकाले निर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश कार्कीले सपथ ग्रहण गराउने हुनुभएको हो।

यही फागुन २५ गते पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । उहाँले आफ्ना प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्नुभएको थियो।

पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरी विजयी हुनुभएको थियो भने नेम्वाङले १५ हजार ५ सय १८ मतभार मात्रै प्राप्त गर्नुभएको थियो।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ।

संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य मानिएको छ।
नेपालमा विसं २०६२र६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ। त्यसैगरी दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने व्यवस्था पनि संविधानमा गरिएको छ।

गणतन्त्र स्थापनापछि मुलुकले डा. रामबरण यादवलाई पहिलो राष्ट्रपति पाएको थियो।वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुई कार्यकाल राष्ट्रपति जिम्मेवारी पूरा गरेर आज निवृत हुँदै हुनुहुन्छ ।

आफ्नो कार्यकालको अन्तिम दिन आइतबार भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गर्नुभएको थियो ।

 

Share Now

Leave a comment.