Prakash Adhikari April 2, 2018

धनगढी(कैलाली),१९ चैत्र । धनगढी प्रिमियर लिग अन्तर्गत तेस्रो दिन भएको खेलमा टिम चौराहा धनगढीले सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको छ ।

टस जित्दै चौराहाले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको सिवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५० रन जोडेको थियो । उसको इनिंगमा भिपिन चन्द्र र प्रेम तामांगले समान सर्वाधिक २८-२८ रन जोडेका थिए । मात्र २० बल खेलेका चन्द्रले १ चौका र त्यति नै छक्का प्रहार गरेका थिए । यस्तै २९ बल खेलेका प्रेम तामांगले २ छक्काको सहयोगमा २८ रन जोडेका थिए । सिवाइसीको ब्याटिंगमा कुशल भुर्तेलले २५ तथा दिपेन्द्रसिंह ऐरीले १९ रनको योगदान गरेका थिए ।

टिम चौराह धनगढीको बलिंगमा ललित भण्डारीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै रोहन मुस्तफाको नाममा २ विकेट रहेको थियो ।

जवाफमा १५१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको टिम चौराहा धनगढीले खराब सुरुवात गर्यो । सन्दिप जोराको उर्जाशील फिल्डिंगको नतिजा स्वरूप चौराहाले पहिलो विकेट रन आउटको माध्यमबाट गुमाएको थियो ।

ओपनर सुनिल धमला व्यक्तिगत ६ रनको योगफलमा रन आउट हुनपुगे । त्यस्तै अर्का ओपनर अस्फाक अहमद समेत मात्र १० रनको स्कोरमा बिनोद लामाको बलमा कुशल भुर्तेलबाट समातिन पुगे ।

५ नम्बरमा ब्याटिंग गरेका राजु रिजाल समेत क्रिजमा धेरै समय टिक्न सकेनन् । पहिलो ४ विकेट चाडैं गुमाएको धनगढीको इनिंगलाई राजेश पुलामी र रोहन मुस्तफाको साझेदारीले उकास्ने प्रयास गरेका थिए । तर व्यक्तिगत ४० रनको स्कोरमा रोहन मुस्तफा आउट भएसंगै टिम चौराहा धनगढी समस्यामा थियो ।

त्यसपछि खेलमा आएका सोमपाल कामीले विस्फोटक ब्याटिंग गर्दै मात्र १५ बलमा ३८ रन जोडेपछि चौराहाले खेल सकिन ४ बल बाकीं विजय सुनिश्चित गर्यो ।

सोमपाल खेलको म्यान अफ दि म्याच  भए ।

सिवाइसीको बलिंगमा दिपेन्द्र ऐरीले २ तथा बिनोद लामा र भिपिन चन्द्रले सामन १-१ विकेट लिए ।

Share Now

Leave a comment.