बुटबल(रुपन्देही), १९ चैत्र । तेस्रो मदन भण्डारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि रुस्लान थ्रीस्टार क्लबले जितेको छ ।
बुटवल–१० रामनगरस्थित मान विज्ञान माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा थ्रीस्टारले मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हराएर उपाधि जित्न सफल भयो ।
खेल शुरु भएको दोस्रो मिनटमै बिमल रानाको गोलबाट अग्रता लिएको मनाङले त्यसलाई जोगाउन सकेन ।
दोस्रो हाफको ६५ औं मिनटमा अनन्त तामाङले थ्रीस्टारका लागि बराबरी गोल फर्काए भने ८२ औं मिनटमा अजयी मार्टिन्सले निर्णायक गोल गर्दै थ्रीस्टारको जित सुनिश्चित गरे ।
बिजेता बनेको थ्रीस्टारले उपाधिसहित नगद १५ लाख हात पारेको छ भने उपविजेता बनेको मनाङले ७ लाख ५० हजार जितेको छ ।
बुटवलमा यस सिजन थ्रीस्टारको यो लगातार दोस्रो उपाधि हो ।
यसअघि थ्रीस्टारले प्रतिष्ठित तिलोत्तमा गोल्डकपको उपाधि जितेको थियो ।