Prakash Adhikari March 26, 2023

काठमाडौं, १२ चैत्र । नेपाल वायुसेवा निगमको जहाजमाथि खतरा हुने गरी एअर इण्डियाको जहाज अवतरण गर्न लागेको घट्नालाई सुरुमै रोक्न अग्रसर नभएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उड्डयन नियन्त्रकलाई अनिश्चितकालिन निलम्बन गरिएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले ट्वीटरमार्फत यस घट्नमा संलग्न देखिएका प्राविधिकलाई अर्को सूचना जारी नभएसम्म निलम्बन गरिएको जानकारी दिएको छ ।

पाइलटमाथि छानबिन
उडिरहेको नेपाल एअरलाइन्सको विमान ठोक्किनसक्ने चेतावनी प्रणाली सक्रिय हुने गरी अस्वाभाविक रूपमा नजिक आएको भनिएको एअर इन्डियाको एउटा जहाजका पाइलटमाथि छानबिन सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

गत शुक्रवार क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एअरलाइन्सको जहाजमा अचानक अर्को जहाज नजिक आएको खतराको सूचना प्रवाह भएको थियो।

नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार काठमाडौंमा अवतरणका लागि तयारी गरिरहेको नेपाल एअरलाइन्सको जहाजमा जोखिम हुने गरी एअर इन्डियाको जहाज नजिक आएको थियो।

“नेपाल एअरलाइन्सको विमान १५,००० फिट माथि उडिरहेको बेला १९,००० फिटमा उडिरहेको एअर इन्डियाको जहाजले एक्कासि उचाइ कम गरेर नेपाल एअरलाइन्सको निकट आएको पाइएपछि छानबिन समिति गठन गरिएको छ,” नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भन्नुभयो।

“त्रिभूवन विमानस्थलको राडारमा पनि दुइटा विमान नजिकै देखिएपछि तत्कालै एउटालाई उचाइ बढाउन र अर्कोलाई कम गर्न भनिएको थियो।”

ठोक्किन सक्ने चेतावनी
नेपाल प्रवेश गर्ने जहाजहरू साधरणतया २०,००० फिट माथिबाट प्रवेश गर्ने र अवतरणको अनुमति पाएपछि क्रमशः उचाइ कम गर्दै विमानस्थलतर्फ अघि बढ्ने निरौलाले बताउनुभयो। तर त्यतिबेला एअर इन्डियाको जहाजले अवतरणका लागि अनुमति पाइसकेको थिएन।

त्रिभूवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुई विमान कति नजिक थिए भन्ने विषय छानबिन समितिले अध्ययन गरिरहेको बताउनुभयो।

“यति नै नजिक थिए भनेर अहिले नै भन्न सकिने अवस्था छैन तर नेपाल एअरलाइन्सको जहाजमा अलर्ट (चेतावनी) देखिएको रहेछ,” उनले भने।

अधिकारीहरूका अनुसार विमानमा रहने ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम (टीसीएएस) प्रणालीले नजिकै रहेको विमानसँग ठोक्किन सक्ने खतरा भएमा विमानलाई सूचना दिन्छ।

नेपाल एअरलाइन्सको विमानका चालकहरूले त्यस्तो चेतावनी आफ्नो जहाजमा आएको जानकारी प्राधिकरणलाई गराएको प्रवक्ता निरौलाले बताउनुभयो।

“एनएसीको जहाजमा टीसीएस सक्रिय भएको रहेछ। त्यो भनेको विमानसँग अर्को विमान ठोक्किन सक्ने चेतावनी हो,” उहाँले भन्नुभयो।

“यस्तो चेतावनी एअर इन्डियाको विमानमा पनि देखिनुपर्ने हो तर उक्त विमानले त्यसको जानकारी प्राधिकरणलाई गराएन।”

‘लापरबाही’को आशङ्कामा छानविन

निरौलाका अनुसार प्रारम्भिक विवरणहरूबाट एअर इन्डियाका पाइलटको “लापरबाही” देखिएको प्राधिकरणको निष्कर्ष छ।

“एअर इन्डियाको लापरबाही जस्तो देखिन्छ। अब छानबिनबाट थप यथार्थ आउला,” उहाँले भन्नुभयो।

छानविन समितिमा रहेका व्यक्तिहरूको विवरण भने प्राधिकरणले सार्वजनिक गरेको छैन।

त्रिभूवन विमानस्थलका प्रवक्ता सिटौलाका अनुसार प्रारम्भिक अध्ययनमा एअर इन्डियाको जहाजले अनुमति नलिई आफ्नो उचाइ कम गरेको देखिएको छ।

“हामीले घटनाको अनुसन्धान नसकिँदा सम्म त्यस समयमा विमानस्थलमा कार्यरत तीन जना एअर ट्राफिक कन्ट्रोलरलाई पनि काम नगर्न भनेका छौँ,” उहाँले भन्नुभयो।

अनुसन्धान नसकिँदासम्म उक्त उडानसँग सम्बन्धित एअर इन्डियाका पाइलटलाई पनि नेपाल प्रवेश गर्न रोक लगाइएको विवरण आएका छन्।

तर त्यसबारे विमानस्थलका अधिकारीहरूले केही बताएका छैनन्।

बीबीसीको जिज्ञासामा प्राधिकरणका प्रवक्ता निरौलाले त्यसबारे “बुझ्नुपर्ने” बताउनुभयो।

Share Now

Leave a comment.