वाशिड.टन डी.सी.(संयुक्त राज्य अमेरिका), १७ चैत्र । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी दिनमा पक्राउ पर्ने हुनुभएको छ । पोर्न स्टार मुद्दामा ट्रम्पलाई कारबाही गरिने भएको छ । यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पोर्न स्टार स्टर्मी डेनियललाई पैसा दिएको मामिलामा चल्नेछ।
यस मामिलामा ट्रम्पले कस्तो आरोपको सामना गर्नुहुनेछ भन्ने बारे जानकारी हाल दिइएको छैन। ज्यूरीको भोटिङपछि ट्रम्पमाथि मुद्दा चलाउने बाटो सम्भव भएको छ। ७६ वर्षीय ट्रम्पले यस मामिलामा आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै आउनुभएको छ ।
यदि यसो भएका ट्रम्प फौजदारी मुद्दा चलाइने पहिलो राष्ट्रपति हुनुहुुनेछ । ट्रम्प फ्लोरिडामा बस्नुहुन्छ र उहाँ अदालतमा पहिलो सुनुवाइका लागि अदालतमा आउन सक्ने विश्वास गरिन्छ। ट्रम्पको रक्षा टोलीका अनुसार पूर्व अमेरिकी राष्ट्रपतिले अर्को साता आत्मसमर्पण गर्न सक्ने बताइएको छ ।
अदालतमा ट्रम्पको सुरक्षा गर्ने जिम्मेवारी अमेरिकी गुप्तचर निकायले पाएको छ । सीएनएनले यो मुद्दासँग सम्बन्धित दुई स्रोतलाई उद्धृत गर्दै ट्रम्पमाथि व्यवसायिक धोखाधडीसम्बन्धी ३० भन्दाधेरै अभियोग लगाइएको बताएको छ ।
जनवरी २०१८ मा अमेरिकी अखबार वाल स्ट्रीट जर्नलले एउटा लेख प्रकाशित गर्यो। यसमा राष्ट्रपति ट्रम्पका तत्कालीन वकिल माइकल कोहेनले अमेरिकी राष्ट्रपति चुनावको एक महिना अघि अक्टोबर २०१६ मा पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर तिरेको दाबी गरिएको थियो।
जर्नलका अनुसार यो पैसा उहाँले ट्रम्पसँगको अफेयरको बारेमा कुनै पनि कुरा सार्वजनिक नगर्ने सम्झौता अन्तर्गत दिइएको हो । कानूनी रूपमा यो भुक्तानी अवैध थिएन। तर जब ट्रम्पले कोहेनलाई भुक्तानी गर्नुभयो उहाँले यसलाई कानूनी शुल्कको रूपमा रेकर्ड गर्नुभयो।
न्यूयोर्क प्रशासनका वकिलहरूका अनुसार यो ट्रम्पले आफ्ना कागजातहरूसँग छेडछाड गरेको घटना हो, जुन न्यूयोर्कमा आपराधिक कार्य हो।
सार्वजनिक अभियोजकहरूले पनि ट्रम्पलाई यस मामलामा चुनावी नियमहरू उल्लङ्घन गरेको आरोप लगाउन सक्ने अवस्था छ। किनभने ट्रम्पले स्टर्मी डेनियललाई गरेको भुक्तानी लुकाउने प्रयास गर्नुभएको थियो । उहाँले आफ्नो र डेनियलबीचको सम्बन्धलाई मतदाताहरूबाट लुकाउन सकिने संभावनाका आधारमा यसो गर्नुभएको थियो ।


















