Prakash Adhikari March 31, 2023

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चैत्र १७ गते शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने हुनुभएको छ।
प्रधानमन्त्री प्रचण्डले बिहीबारका लागि मन्त्रिपरिषद् विस्तारको तयारी गरेपनि दलहरूबीचमा आन्तरिक सहमति हुन बिलम्ब भएकोले आज अपरान्ह विस्तार हुन लागेको हो ।

बिहीबार चितवनमा आयोजित केही कार्यक्रममा सहभागी हुन जानुअघि प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरूलाई मन्त्रीको नामावली तयार गर्न भन्नुभएको थियो। उहाँले चितवनका दुई सार्वजनिक कार्यक्रममा मन्त्रीहरुको शपथ गराउन छिट्टै काठमाडौं फर्कन परेको पनि बताउनुभएको थियो । तर राजधानीमा रहेका गठबन्धनका दलहरुले मन्त्रीको अन्तिम नामावली बुझाउन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिन पुगेको थियो।

प्रधानमन्त्री दाहालले सबै दलहरुलाई शुक्रबार दिउँसो १ बजेसम्ममा आ–आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने नयाँ मन्त्रीहरूको अन्तिम नामावली पठाउन आग्रह गर्नुभएको छ। १ बजेसम्म दलहरूबाट नाम लिएर दिउँसो ३ बजेका लागि शपथग्रहण गराउने प्रधानमन्त्री प्रचण्डको तयारी छ।

मन्त्रिपरिषद् विस्तारलाई लिएर बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो।

गठबन्धनको भागबन्डा अनुसार कांग्रेस ८, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादी २, जनता समाजवादी पार्टी २, लोकतान्त्रिक समाजवादी पार्टी १, नागरिक उन्मुक्ति पार्टी १, जनमत पार्टी १, नेपाल समाजवादी पार्टीले १ मन्त्रालय लिने समझदारी छ।

त्यसैगरी मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्दै हुनुहुन्छ।

को–को बन्दैछन् मन्त्री ?

सत्ता साझेदार दलमध्ये प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालयसहित सरकारमा सहभागिता जनाउँदै छ। कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ।

नेपाली कांग्रेसले रक्षा, अर्थ, परराष्ट्र, स्वास्थ्य, भूमि व्यवस्था, सहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन, न्याय तथा कानून मन्त्रालय पाएको छ ।

पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्नुहुने उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधानसहित रक्षा मन्त्रालय दिने तयारी छ। त्यस्तै, कांग्रेसले अर्थ मन्त्रालयमा डा. प्रकाशशरण महतलाई पठाउने भएको छ। अर्का उपसभापति धनराज गुरुङलाई संसदीय मामिला तथा सामान्य प्रशासन, केन्द्रीय सदस्य एनपी साउदलाई शहरी विकास, सीता गुरुङलाई भूमि ब्यवस्थापन, डिगबहादुर लिम्बुलाई न्याय तथा कानून, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य मन्त्रालय र रमेश रिजाललाई परराष्ट्र मन्त्रालय दिने लगभग तय भएको छ ।

त्यस्तै, सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेका छन्। प्रधानमन्त्रीसहित गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय माओवादीले नेतृत्व गर्ने भएको छ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ।

उहाँलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ ।

माओवादीबाट अहिले सञ्चारमन्त्रीमा रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती हुनुहुन्छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने कांग्रेसको भागमा परेको सामान्य प्रशासन मन्त्री अमनलाल मोदी महिला,बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाउनु हुने छ भने शक्ति बस्नेतले ऊर्जा मन्त्रालय ।

त्यस्तै, एकीकृत समाजवादीले कृषि र भौतिक पूर्वाधार मन्त्रालय लिने भएको छ। कृषिमा एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने हुनुभएको छ।

जसपाले ीशक्षा मन्त्रालय लिने छ भने अर्कोको टुंगो लागिसकेको छैन तर बनको संभावना अधिक छ। जसपाले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले श्रम, राजेगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने भएको छ। लोसपाबाट वरिष्ठ नेता शरतसिंह भण्डारी श्रममन्त्री बनाउने तयारी छ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट महिन्द्र राय यादव मन्त्री बन्ने हुनुभएको छ ।उहाँलाई खानेपानी मन्त्रालय दिने तयारी छ ।

नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्दैछन्। उहाँलाई खेलकूद मन्त्रालय दिने तयारी छ ।

जनमत पार्टीले उद्योग,बाणिज्य र आपूर्ति मन्त्रालय लिने छ । सो पार्टीले अब्दुल खाँलाई मन्त्री बनाउदै छ । मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साहको पनि मन्त्रालय टुंगो लाग्न बाँकी छ।

Share Now

Leave a comment.