काठमाडौं, ५ बैशाख । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध भ्रटाचार मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
भ्रष्टाचार गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा विशेष अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो ।
सोमबार न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले खड्कासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
२०७५ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख रुपैयाँ गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सरकारले २०७४ साल असोजमा विभिन्न संसदीय समितिको सिफारिसबमोजिम खड्कालाई पदच्युत गरेको थियो ।
मन्त्रिपरिषद्ले निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
खड्कामाथि उहाँ निगमको अध्यक्ष हुँदा झापा, चितवन र भैरहवामा निगमका पेट्रोलियम भण्डारण डिपो निर्माण गर्न खरिद गरिएको जग्ग्गामा भ्रष्टाचार भएको अभियोग लगाइएको थियो ।
आयल निगमका निम्ति जमिन खरिद गर्दा करोडौँ भ्रष्टाचार भएको भन्ने सम्बन्धमा संसदीय समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा प्रेम राई र निगमका महाप्रबन्धक गोपाल खड्कालगायतका व्यक्तिहरुको संलग्नता देखिएको थियो ।
तर त्यसैबेला सञ्चालक समितिका अध्यक्ष रहनुभएका तत्कालिन आपूर्ति सचिव प्रेमकुमार राईलाई भने उहाँ नेकपा एमालेनिकट रहनुभएको आधारमा यस प्रकरण र वाइड बडी भ्रष्टाचार प्रकरणमा पनि एमालेले ह्वीप लगाएर उन्मुक्ति दिएको थियो । राईकै अध्यक्षतामा बसेको निगमको सञ्चालक समितिको बैठकले जग्गा खरिदको निर्णय गरेको गरेको थियो ।
६ अर्ब ५९ करोडभन्दा बढी भ्रष्टाचार भएको वाइडबडी खरिद प्रकरणमा पनि त्यसबेला कर्मचारी सञ्चय कोषको अध्यक्ष रहनुभएका वर्तमान अख्तियार प्रमुख राईको प्रत्यक्ष संलग्नता थियो । मिति २०७४ जेठ ३ गते बसेको कर्मचारी सञ्चय कोष सञ्चालक समितिको १५०२औँ बैठकमा समितिका अध्यक्ष प्रेमकुमार राईले अध्यक्षता गर्नुभएको थियो । कोषका प्रमुख प्रशासक अनुपस्थित रहेको सो बैठकले निगमलाई ४ अर्ब १६ करोड रकम उपलब्ध गराउने निर्णय गरेको थियो । नेपाल वायुसेवा निगमले २०७४ जेठ २९ गते पत्र लेखेको भोलिपल्टै प्रेमकुमार राईले सञ्चयकोष सञ्चालक समितिबाट द्रुत गतिमा रकम भुक्तानी दिइएको थियो ।
कर्मचारी सञ्चयकोषका तात्कालिन मुख्य प्रशासक (कार्यकारी प्रमुख) कृष्णप्रसाद आचार्यले रकम उपलब्ध गराउन आनाकानी गरेपछि आचार्यलाई बिदा लिन लगाई बाहिर पठाएर अध्यक्ष राईले सो निर्णय गराउनुभएको थियो ।
उक्त बैठकमा सञ्चालकहरू प्रा.डा. डिल्लीराज आचार्य, गंगाप्रसाद गुरुङ र किरणकुमार श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो भने गणेशप्रसाद पाण्डेय र प्रशासक (प्रमुख कार्यकारी) कृष्णप्रसाद आचार्य अनुपस्थित हुनुहुन्थ्यो । आचार्यको ठाउँमा निमित्त प्रशासक (आमन्त्रित) बनाएर दीपक रौनियारलाई बैठकमा सहभागी गराइएको थियो ।





















