काठमाडौं, ५ वैशाख । योजनाअनुसार काम अघि बढेमा हाल डिजेलमात्र आयात भइरहेको नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको “आठ महिनापछि” पेट्रोलको पनि आयात सुरु हुने आयल निगमका अधिकारीले बताएका छन्।
त्यसका लागि अहिले आवश्यक पूर्वाधार निर्माण “धमाधम भइरहेको” निगमको अमलेखगञ्ज डिपोका प्रमुख विनितमणि उपाध्यायले बताउनुभएको छ।
नेपाल आयल निगमका अधिकारीका अनुसार पाइपलाइनबाट पेट्रोल पनि आउन थालेपछि पेट्रोलको ढुवानी खर्चमा निकै कटौती हुनसक्छ।
उक्त पाइपलाइनबाट डिजेल ल्याउन थालिएपछि डिजेलको मूल्य पनि त्यसबेला प्रतिलिटर दुई रुपैयाँले घटेको थियो।
दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पाइपलाइन
भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म विस्तार भएको उक्त अन्तरदेशीय पाइपलाइन २०७६ भदौदेखि सञ्चालनमा आएको थियो।
दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन भनिएको त्यसबाट हालसम्म नेपालमा पेट्रोलको आयात गर्न सकिएको छैन।
त्यसको मुख्य कारण अमलेखगञ्जमा पेट्रोल भण्डारण क्षमता कम हुनु मुख्य समस्या रहेको नेपाल आयल निगमका अधिकारीले बताउनुभएको छ।
यद्यपि पाइपलाइन निर्माणको दोस्रो चरणमा इन्डियन आयल कर्पोरेसन आईओसीसँगको साझेदारीमा त्यस्ता भण्डारण केन्द्रहरूको निर्माण अहिले धमाधम भइरहेको छ।
मोतिहारीदेखि अमलेखगञ्जसम्म नेपाल र भारतको संयुक्त लगानीमा उक्त अन्तरदेशीय पाइपलाइन बनेको हो र त्यसलाई थप ७० किलोमिटर विस्तार गरेर चितवनको लोथरसम्म ल्याउने योजना रहेको छ।
हाल बनेको पाइपलाइनको कुल लम्बाइ ६९.२ किलोमिटर छ। त्यसमध्ये ३६.२ किलोमिटर भाग नेपालमा पर्छ।
आगामी जनवरी देखि पेट्रोलको आयात पनि पाइपबाटै

निर्माणाधीन पेट्रोलियम भण्डारण ट्याङ्की
उपाध्यायका अनुसार अहिले अमलेखगञ्जमा पाइपलाइनसम्बन्धी दोस्रो चरणको कार्य अन्तर्गत भण्डारण केन्द्र र अन्य पूर्वाधार निर्माण धमाधम भइरहेको छ।
“अहिले एनओसी र आईओसीको संयुक्त लगानीमा विभिन्न पूर्वाधारहरू बनाउने काम जारी छ,” उहाँले भन्नुभयो।
“अहिलेकै गतिमा काम गर्न सकियो भने २०२४ को जनवरीभित्रै पाइपलाइनबाट पेट्रोल पनि आयात हुन्छ।”
उहाँका अनुसार दुवै देशका पेट्रोलियम पदार्थ बिक्री तथा व्यवस्थापन गर्ने निकायहरूको संयुक्त लगानीमा ती पूर्वाधारहरू बनिरहेका छन्।
“यहाँ हामीले भण्डारणका लागि ट्याङ्कीहरू तथा पम्पहाउस र अग्नि नियन्त्रणका संयन्त्रको पनि निर्माण गरिरहेका छौँ,” उहाँले भन्नुभयो।
आयल निगमका अनुसार अहिले दैनिक ४ हजार किलोलिटरभन्दा बढी डिजेल पाइपलाइनबाट आइरहेको छ।
हाल भैरहवाभन्दा पूर्वको आपूर्तिका लागि लगभग सबैजसो डिजेल उक्त पाइपलाइनबाटै आउने गर्छ।
भैरहवाभन्दा पश्चिमतर्फ भने विभिन्न भारतीय डिपोहरूबाट पहिलेकै जस्तो ट्याङ्करमा भरेर ल्याउने गरिएको छ।
भण्डारण क्षमता कति ?

उपाध्यायका अनुसार अमलेखगञ्ज डिपोमा १९ हजार किलोलिटर डिजेल भण्डारण क्षमता रहेको छ।
पाइपलाइनमार्फत् आएको डिजेल उक्त भण्डारणस्थलमा राख्ने र त्यसपछि ट्याङ्करमा भरेर अन्यत्र पठाउने गरिन्छ।
नेपालमा कुल पेट्रोलियम खपतमा सबैभन्दा धेरै हिस्सा डिजेलको रहेको छ।
“नेपालको कुल खपतमा ६५ देखि ७० प्रतिशत खपत डिजेलको हुने गर्छ”, उहाँले भन्नुभयो ।
तर अमलेखगञ्जमा पेट्रोलको भण्डारण क्षमता भने डिजेलका तुलनामा निकै कम रहेको छ।
त्यहाँ ३ हजार ५ सय किलोलिटर मात्र पेट्रोल भण्डारण गर्न मिल्छ।
त्यसमध्ये करिब पाँच सय किलोलिटर उक्त डिपोबाटै बिक्री हुने उपाध्यायले बताउनुभएको छ ।
उहाँका अनुसार अहिले आईओसीको लगानीमा थप अमलेखगञ्जमा चारचार हजार किलोलिटरका दुईवटा पेट्रोल भण्डारण ट्याङ्की निर्माणाधीन छन्।
त्यस्तै नेपाल आयल निगमको लगानीमा पनि दुईवटा ट्याङ्की निर्माणका लागि ठेक्का लगाइएको छ।
एउटै पाइपबाट एक पटक डिजेल र अर्को पटक पेट्रोल पठाउँदा केही मात्रामा तेल मिसिएर आउने गर्छ।
त्यस्तो तेल राख्नका लागि पनि छुट्टै ट्याङ्की निर्माण भइरहेको उहाँले बताउनुभयो।
भण्डारणस्थल बनेपछि हाल बरौनीबाट ट्याङ्करमा भरेर ल्याउनुपर्ने पेट्रोल पनि पाइपलाइनबाटै नेपालसम्म आउनेछ।
दोस्रो चरणको निर्माणका लागि नेपाल र भारतले कुल १ अर्बभन्दा बढी भारु खर्चिने बताइएको छ।

पाइपलाइनबाट पेट्रोल ल्याएपछि हुनसक्ने फाइदा
अधिकारीहरूका भनाइमा कोभिड महामारीका कारण पाइपलाइनको कार्यमा केही बिलम्ब भएको थियो।
अहिले भने काममा कुनै अवरोध नभएकाले समयमै काम सकिने निगमका अधिकारीहरूको विश्वास छ।
पाइपलाइनबाट पेट्रोल पनि ल्याउन थालेपछि त्यसबाट विभिन्न खाले फाइदा पुग्ने उपाध्यायले बताउनुभयो।
उहाँले भन्नुभयो, “पाइपलाइन भनेको ढुवानीको आधुनिक माध्यम हो। यसबाट ढुवानी सहज मात्र हुँदैन छिटो र भरपर्दो पनि हुन्छ।”
“धेरैवटा ट्याङ्करबाट हुने ढुवानीले पर्यावरणमा पर्ने प्रभाव कम गर्न सहयोग पुग्छ भने बाटोमा हुने चोरी र मिसावटमा पनि कमी आउँछ।”
उहाँका भनाइमा पेट्रोलको आयात पनि पाइपबाट हुन थालेपछि मूल्य पनि केही कम हुनसक्छ।
त्यसको कारणबारे उनले भने, “अहिले काठमाण्डूसम्म पेट्रोल पुर्याउँदा प्रतिलिटर ६ रुपैयाँ ७२ पैसा ढुवानी खर्च लाग्छ। पाइपलाइनबाट आउन थालेपछि त्यस्तो लागत करिब साढे ४ रुपैयाँ मात्र पर्छ।” (बीबीसी नेपाली सेवाबाट)


















