काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कप अन्तरगत आज भएको समुद्घाटन खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रतिस्पर्धी मलेशियाको राष्ट्रिय टिमलाई ६ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिड. गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो ।
मलेशियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेटको क्षतिमा ८२ बल बाँकी रहदै २ सय ३७ रन जोडेर पूरा गरेको थियो ।
आजको खेलमा नेपालका लागि सर्वाधिक रन भिम सार्कीले जोडे । उनले ५ चौकाका मद्दतले ९८ बलमा ७१ रन जोडे । कुशल मल्लले ५ अविजित ७० रन जोडे । खेलमा कप्तान रोहित पौडेले ५ चौकाको मद्दतले ४२,ओपनर कुशल भुर्तेलले ५ चौका र २ छक्काको मद्दतले ३८ रन जोडेका थिए । ओपनर आशिफ शेख एक रनमै आउट हुन पुगेका थिए भने दिपेन्द्रसिंह ऐर ५ रनमा नटआउट रहे ।
खेलमा नेपालका कुशल मल्ल प्लेअर अफ द म्याच घोषित भएका छन् ।
नेपाललाई रोक्ने क्रममा मलेशियाका मोहम्मद वाकिफ, विजय उनी,रिजवान हैदर र विरनदीप सिंहले एक एक विकेट लिए ।
यस पहिले टस जितेर ब्याटिड. रोजेको मलेशियाका तर्फबाट कप्तान अहमद फैजले ९५ बलमा ८ चौका र एक छक्काको मद्तले ७६ रन बनाएका थिए । त्यस्तै विरनदीपले ९४ बलमा ४६ रन बनाए भने खिजर हायातले २२, स्याजरुल इन्द्रुसले २१, मोहम्मद अमिरले १७, मोहम्मद सयाहदातले १५, सैयद अजिजले १३, विजय उनीले १२ र मोहम्मद वाफिकले १ रनको योगदान दिएका थिए ।
मलेशियालाई रोक्ने क्रममा सोमपाल कामी र सन्दीप लामिछानेले ३ । ३ तथा ललित राजवंशीले २ र गुल्शन झाले १ विकेट लिएका थिए ।
आजै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा हंगकंगले सिंगापुरलाई १ सय २ बल बाँकी छँदै ८ विकेटले पराजित गरेको छ ।
१० राष्ट्रिय टोलीको सहभागिता रहेको एसीसी प्रिमियर कप खेलको विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँछ ।
प्रतियोगिता समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीमा हुनेछ ।हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी छन् ।


















