Prakash Adhikari April 19, 2023

 

काठमाडौं, ६ बैशाख । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा यूएई र ओमान विजयी भएका छन् ।

कीर्तिपुर मैदानमा भएको खेलमा यूएईले कुवेतलाई १ सय ४३ रनले हरायो । बुधबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७१ रन बनायो ।

 

युएईको जितमा रोहन मुस्ताफा र वृत्य अरविन्दले शतक बनाए । अरविन्दले १ सय ४७ बलमा १७ चौका र ९ छक्काको सहयोगमा १ सय ८५ रन बनाए । मुस्ताफाले १ सय २४ बलमा १० चौका र ४ छक्काको मद्धतले १ स १८ रन बनाए । ४।४ ओभरमा २४ रन बनाउँदा ३ विकेट गुमाइसकेको यूएईका लागि अरविन्द र मुस्तफाले चौथो विकेटका लागि २ सय ७५ रनको विशाल साझेदारी गरेका थिए ।

जवाफमा कुवेतले ३६.३ ओभरमा अलआउट हुँदै २ सय २८ रन बनायो । सायद मोनिबले ३६ बलमा ६८ तथा परविन्दर कुमारले २६ बलमा ५३ रन बनाएको इनिङ्समा जुनैद सिद्धिकी र कार्तिक माइयाप्पनले ३–३ विकेट लिए ।

बुधबार नै मूलपानीमा भएको अर्को खेलमा ओमानले कतारलाई ४० रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको ओमानले ८ विकेटको क्षतिमा २ सय ४९ रन बनाएको थियो । २ सय ५० रनको लक्ष्य पाएको कतारले ४७.२ ओभरमा अलआउट हुँदै २ सय ९ रनमात्र जोड्न सक्यो ।

यो खेलपछि समूह ए बाट मलेसियालाई हराएको नेपाल २ अंकसहित शीर्ष स्थानमा छ भने ओमान २ अंकबाटै दोस्रो स्थानमा छ ।

त्यस्तै समूह बी मा यूएई र हङकङको २–२ अंक भएको छ ।

बैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदान र मूलपानीमा संचालन भइरहेका छन् ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

समूह बी मा सिंगापुर, हङकङ, यूएई, कुवेत र बहराइन रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ ।

फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कपमा यो प्रिमियर कप जित्ने टिमले समूह चरणमै भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।

शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुनेछन् ।

Share Now

Leave a comment.