ईश्वर जोशी
भरतपुर(चितवन), ५ बैशाख । चितवनको क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने उपनिर्वाचनमा पुराना दलहरूले गुमेको विरासत फर्काउन गरेको कसरतले त्यहाँको निर्वाचन अभियान रोचक बन्दै गएको छ।
यसअघि मङ्सिर ४ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने करिब ४९ हजार मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो भने नेपाली कांग्रेसका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ /१४ हजार हाराहारीमा मत प्राप्त गर्नुभएको थियो ।
छोटो समयमा नै निकै लोकप्रियता कमाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा यसअघि खसेको मत फर्काउने चुनौती नेपाली कांग्रेस र एमालेलाई छ।
यहाँको आसन्न उपनिर्वाचनमा १२ दल र १० स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परे तापनि खास गरी प्रतिस्पर्धा भने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेबीच नै रहेको विश्लेषण स्थानीयहरू गर्छन्।
आइतवार हुने मतदानका लागि चितवन -२ का १ लाख २४ हजार ६ सय ९५ योग्य मतदाता छन्।
आ -आफ्नै कसरत
यसअघि आफ्नै कार्यकर्ताको मत नपाएको बताउने चितवनमा नेपाली कांग्रेस र एमाले मङ्सिर ४ को निर्वाचनमा गुमेको मत फर्काउन निकै कसरत गरिरहेका देखिन्छन्।
वैशाखको गर्मीको प्रवाह नगरिकन दलका उम्मेदवार र कार्यकर्ताहरू निर्वाचन क्षेत्रका नागरिकका समस्या, विकास र सेवा-सुविधासँग जोडिएका एजेण्डा सुनाउँदै मतदाताका घर घरमा पुगिरहेका छन् ।
नेपाली कांग्रेसले जीतनारायण श्रेष्ठलाई गठबन्धन दलको साझा उम्मेदवार बनाएको छ।
मङ्सिर ४ को निर्वाचनमा समेत त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले गठबन्धनको साथ पाउनुभएको थियो। तर उहाँ ठूलो अन्तरले पराजित हुनुभयो।
त्यसबेला देखिएको त्यही उच्च अन्तरका कारण यस निर्वाचनमा समेत गठबन्धनका र नेकपा एमालेका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको मत गएको मत फर्काउन निकै कसरत गर्नु पर्ने धेरैको टिप्पणी हुने गरेको छ।
“मङ्सिर ४ को निर्वाचनमा जे भयो भयो, त्यो सधैँ दोहिरिन सक्दैन। यसपाली लहर कांग्रेसको पक्षमा छ”, गठबन्धनको साथ पाएका काङ्ग्रेका उम्मेदवार जीतनारायण श्रेष्ठले भन्नुभयो ।
नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने आफ्नो दल सधैँ विकासप्रेमी रहेको बताउँदै अहिले पार्टीले चलाएको ुमिसन ग्रासरुटु कार्यक्रमले पनि एमालेको पक्षमा मतदाताहरु देखिएको दाबी गर्नुभयो।
उहाँ भन्नुहुन्छ, “यी कारणले यसपटकको निर्वाचनको परिणाम एमालेको पक्षमा आउँछ।”
अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल यहाँ तेस्रो हुनुभयो।
यी दुवै उम्मेदवारका लागि चुनौतीका रूपमा रहेका रवि लामिछाने अघिल्लो पटक पराकिलो अन्तरले निर्वाचित हुनुभएको थियो।
आफू छोटो समयमै सांसद पदबाट बाहिरिनु परेका कारण मतदातालाई गरेको बाचा पूरा गर्न नसकिरहेको लामिछानेले प्रचारका क्रममा बताउँदै आउनुभएको छ।
उहाँ भन्नुहुन्छ, “तपाईँहरूलाई गरेको बाचाबाट म विचलित भएको छैन र तपाईँहरू पनि विचलित नभइदिन आग्रह गर्दछु।”
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो। पुनः नेपाली नागरिकता लिएर लामिछाने चुनावमा सहभागी हुनुभएको हो।
आक्रामक प्रचार

पुराना दलहरूले मत फर्काउन आक्रामक प्रचारप्रसार शैली अपनाइरहँदा रास्वपाका लामिछाने चाहिँ आफूले पहिला पाएको मत जोगाउन लागेको देखिन्छ ।
विसं २०७९ सालको आमनिर्वाचनअघि एमालेले चितवन २ मा लगातार दुईपटक जितेको थियो। हुन त नयाँ संविधान आएपछि चितवनको निर्वाचन क्षेत्र पुननिर्धारण भएको थियो । हालको क्षेत्रले संविधान सभा निर्वाचन ताका बनाइए को क्षेत्र नं २ र ३ समेट्छ । पछिल्लो चुनावमा यहाँबाट लगातार दुईपटक निर्वाचित सांसद पोखरेल तेस्रो मात्रै हुनुभयो।
हाल उक्त दलका उम्मेदवार रामप्रसाद न्यौपाने एमाले चितवन जिल्ला समितिका अध्यक्ष हुनुहुन्छ।
त्यसअघि पहिलो संविधानसभाको निर्वाचनमा त्यहाँ नेपाली कांग्रेसका शेषनाथ अधिकारी निर्वाचित हुनुभएको थियो ।
२०७४ को चुनावमाबाटै मतदाताको चित्त बुझाउन नसकेको नेपाली कांग्रेसले यसपटक जिल्ला राजनीतिमा स्थापित पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उतारेको छ।
उपनिर्वाचनमा गठबन्धनका दलहरू प्रतिबद्ध भएर लागेको र जनस्तरमा रहेको भ्रम चिर्ने काम भई रहेको नेकपा माओवादीका अध्यक्ष रामचन्द्र अधिकारी बताउँनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “माओवादीको ९० प्रतिशत मत गठबन्धनका उम्मेदवारलाई जानेछ।”
कांग्रेसले प्रचारका क्रममा जिल्लाका पुरानादेखि समकालीनलाई समेट्ने प्रयास गरिरहेको देखिन्छ।
यसका लागि कांग्रेस र एमालेका प्रभावशाली केन्द्रीय नेताहरू चुनावी कमान्ड सम्हालेर चितवनमै खटिएका छन्।
यहाँ एमाले र कांग्रेस दुवै प्रमुख दलका उम्मेदवार प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा पहिलो पटक अघि सरेका हुन्।(बीबीसी नेपाली सेवाबाट)


















