Prakash Adhikari April 22, 2023

पोखरा(कास्की), ९ वैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत लिन असमर्थ हुनुभएको छ ।

आज प्रदेश सभामा प्रस्तुत भएको विश्वासको मतको प्रस्तावमा बहुमत पुर्याउन उहाँ असमर्थ हुनुभएको छ । यो संगै नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ।

शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत गुमाएसँगै एमाले नेतृत्वको गण्डकी सरकार ढलेको हो।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम गएको पुस २५ गते मुख्यमन्त्री नियुक्त अधिकारीले सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुभएको थियो।

मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा एमालेका २२ जना राप्रपाका २ जना गरी २४ जना सांसदले समर्थन गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका ७ जना र मनाङबाट निर्विरोध चुनाव जितेर हाल नेकपा एकिकृत समाजवादी प्रवेश गरेका १ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएनन्।

माओवादीबाट सभामुख कृष्ण धिताल मतदानमा सरिक हुनुभएन।

एमाले गण्डकीका संसदीय दलका नेता अधिकारी माओवादी केन्द्र र राप्रपा सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्री नमुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले एमालेका तीन जना, माओवादी केन्द्रका दुई जना र राप्रपाका एक जना मन्त्री नियुक्त गर्नुभएको थियो।

संघीय सरकारबाट एमाले बाहिरिएपछि गत चैत १० गते गण्डकी सरकारबाट माओवादी केन्द्र बाहिरिएको थियो।

मुख्यमन्त्रीबाट अधिकारी बर्खास्त भएसँगै अब नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का भएको छ।

उहाँलाई माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले समर्थन दिने बताइएको छ।

 

Share Now

Leave a comment.