काठमाडौं, १० बैशाख । बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
तीनवटै निर्वाचन क्षेत्रमा मतदाताको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जानता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।
रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।
चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठ , राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गत मंसिर ४ को निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेका रविको नागरिकता विवादका कारण सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि उपनिर्वाचन गर्न लागिएको हो ।
तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.स्वर्णिम वाग्लेबीच प्रतिस्पर्धा रहेको छ ।
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवालीबीच प्रतिस्पर्धा हुने अनुमान छ ।


















