धनगढी(कैलाली), २५ चैत्र । सिवाईसी अत्तरियासँग ६ विकेटले पराजित हुँदै पारस खड्काको कप्तानीमा रहेको बिराटनगर किंग्स धनगढी प्रिमियर लिग (डिपिए) क्रिकेट अन्तर्गत लिगको अन्तिम खेलमा प्रतियोगिताबाट बाहिरिएको छ।
योसँगै प्रतियोगिताको प्लेअफमा काठमाण्डौ गोल्डेन्स, टिम चौराहा धनगढी, महेन्द्रनगर युनाईटेड र सिवाईसी अत्तरिया पुगेका छन् ।
लगातार बर्षाको कारणले पहिलो खेल हुन नसकेपछी काठमाण्डौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेडबिचको खेल रद्द भएको थियो जसपछि दुवै टिमले १-१ अंक बाँडेका थिए।
बिराटनगरको ब्याटिंग
बर्षाको कारण ढिला सुरु भएपछि ६ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको बिराटनगरले ३ विकेट गुमाएर ५५ रनको योगफल तयार पारेको थियो। उसका लागि दिलिप नाथ र अनिलकुमार शाहले १५/१५ रन तथा बाबर हयातले १४ रन बनाएका थिए। अत्तरियाका कमलसिंह ऐरी ले २ विकेट तथा शिबशंकर उराओले १ विकेट लिए।
जवाफमा उत्रेको अत्तरियाका लागि विपिन चन्द्राले २६ रन बनाउन मात्र १३ बलमा ५ चौका प्रहार गरेपछि २ बल अगावै ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। यस्तै सुवास खकुरेल घाइते भएपछी कप्तानीको जिम्मेवारी पाएका दिपेन्द्रसिंह ऐरीलेपनि २० रन प्रहार गर्न मात्र १५ बलको सामना गरे।
अत्तरियाले पहिलो २ विकेट ४ रनको योगफलमा पहिलो ओभरमै गुमाएको थियो। गौरब चित्कारा र कुशल भुर्तेललाई पहिलो ओभरमै रामनरेश गिरिले आउट गरेपछि ऐरी र चन्द्राले तेश्रो विकेटको लागि ५१ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याएका थिए।
अन्तिम २ ओभरमा अत्तरियालाई जित्न १८ रन आवश्यक भएको अवस्थामा बलिंग गर्न आएका बसन्त रेग्मीको ओभरको तेश्रो बलमा विकेटकिपर दिलिप नाथले दिपेन्द्र ऐरीलाई स्टम्पिंग गर्ने मौका गुमाएका थिए भने त्यो बल चौका समेत गएको थियो। त्यसै ओभरको अन्तिम बलमा चन्द्राले चौका प्रहार गरेपछि अन्तिम ओभरमा अत्तरियालाई जित्न ७ रन आवश्यक थियो।
अन्तिम ओभरमा बलिंग गर्न आएका पारस खड्काको पहिलो बलमै दिपेन्द्र ऐरीले छक्का प्रहार गरेपछि ५ बलमा अत्तरियालाई जित्न १ रन आवस्यक थियो। पारसले दोश्रो बलमा दिपेन्द्रलाई क्याच आउट गराएपछि ब्याटिंग गर्न आएका सन्दिप जोरा पनि लगत्तै बलमा बोल्ड हुन पुगे।
३ बलमा १ रन आवस्यक रहंदा ब्याटिंग गर्न आएका आकाश थापाले १ रन लिंदै टिमलाई ६ विकेटको जित दिलाएका थिए।
बलिंगतर्फ बिराटनगरका रामनरेश गिरि र पारस खड्काले समान २र२ विकेट लिएपनि जितको लागि पर्याप्त हुन सकेन। गिरिले २ ओभरमा २३ रन खर्चिए।
प्रतियोगिताको प्लेअफ चरणको खेल मंगलबार सुरु हुनेछन्।
मंगलबार हुनेपहिलो क्वालिफायरमा काठमाडौँ गोल्डेन्सले धनगढी टिम चौराहाको सामना गर्नेछ जुन खेलको बिजेता फाइनल प्रवेश गर्नेछ। सोहि दिन हुने इलिमीनेटर खेलमा महेन्द्रनगर युनाइटेडले सीवाईसी अत्तरियाको सामना गर्नेछ जुन खेलको बिजेताले काठमाडौँ र चौराहा बीचको पराजित टिमसंग खेल्नेछ।



















