काठमाडौं, १८ वैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ क्षेत्र नं १ बाट नवनिर्वाचित सांसद एवम् विश्व चर्चित अर्थशास्त्री स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन प्रस्ताव गरेको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मुकुल ढकालले वाग्लेलाई अर्थमन्त्री बनाउन आफ्नो दलले प्रस्ताव गर्ने लगभग सहमति भएको बताउनु भएको छ ।
आजको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले देशको अर्थतन्त्र कमजोर भएकाले उक्त मन्त्रालयमा आफ्नो पार्टीले दाबी गर्नुपर्ने बताएको उहाँको भनाइ छ । डा.वाग्लेको स्वच्छ छवि, नेपाल र विश्व अर्थतन्त्रको बारेमा उहाँमा रहेका अद्यावधिक ज्ञान र उहाँको ख्यातिका कारण पार्टीले उहाँलाई अर्थमन्त्री बनाएर देशको आर्थिक अवस्थामा सुधार गर्ने विषयलाई उच्च प्राथमिकता दिएको उहाँको दावी छ ।
‘अर्थतन्त्र कमजोर भएका कारणले अर्थ मन्त्रालयमा दाबी गर्नुपर्छ भन्ने धारणा पनि सदस्यहरुले राख्नुभयो’ प्रवक्ता ढकालले भन्नुभयो , ‘तर पहिला सरकारमा जाने वा नजाने निर्णय भएपछि मात्रै मन्त्रालयको विषयमा कुरा हुनेछ ।’
अर्थमन्त्रालय दिन प्रधानमन्त्री तयार भएको अवस्थामा वैशाख १० को उपनिर्वाचनमा तनहुँबाट निर्वाचित स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन आफ्नो दलले प्रस्ताव गर्ने ढकालले बताउनुभयो।
‘प्रधानमन्त्री तयार भएको अवस्थामा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउँदा हामी एकदमै खुसी हुन्छौँ । यो देशको अहिलेको आवश्यकता हो,’ उहाँले भन्नुभएको छ, ‘तर जाने वा नजाने निर्णय शुक्रवार मात्रै हुन्छ ।’
आज बसेको बैठकले वाग्लेलाई पार्टीको अर्थ नीति विभाग प्रमुख बनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग आइतबार भएको भेटमा रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पहिले पाएको मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखनका लागि सरकार तयार भएमा सरकारमा जाने संकेत गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहालले शनिवार आयोजित कार्यक्रमहरुमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउने संकेत दिनुभएको छ ।


















