Prakash Adhikari May 1, 2023

खुमलटार(ललितपुर), १८ वैशाख । नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले धितोपत्र व्यवसाय गर्नका लागि निवेदन दिएका १६ धितोपत्र दलाल तथा धितोपत्र व्यापार गर्न इच्छुक कम्पनीलाई आशयपत्र (एलओआई) दिएको छ।

बोर्ड समितिले स्टक डिलरसहित १६ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि एलओआई प्रदान गरेको हो।

बोर्डका अध्यक्ष रमेश हमालले मापदण्ड पुर्याएका कम्पनीलाई धितोपत्र दलाल कारोबारका लागि एलओआई दिएको जानकारी दिनुभएको छ।

‘आवेदन परेको ३५ दिनभित्र मापदण्ड पूरा गरेका कम्पनीहरुलाई बोर्डले नयाँ लाइसेन्स वितरण गरिसक्नुपर्ने व्यवस्था छ’, अध्यक्ष हमालले भन्नुभयो, ‘सोही व्यवस्थाअनुसार १६ वटा मापदण्ड पूरा गरेका कम्पनीलाई आशयपत्र दिइएको हो।’

शेयर ब्रोकर लाइसेन्सको लागि ४६ कम्पनीको आवेदन परेको थियो।

‘मापदण्ड पूरा नहुने कम्पनीहरुलाई लिखित रुपमा जवाफ दिन्छौँ’, उहाँले थप्नुभयो, ‘लाइसेन्स नपाउने कम्पनीलाई लिखित रुपमा जवाफ दिनुपर्ने व्यवस्था नै छ।’

अब बोर्डले एलओआई दिएका कम्पनीहरुले पूर्वाधार तयारी गर्नुपर्नेछ।

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ लाई संशोधन गरी नयाँ ब्रोकर लाइसेन्स वितरणको बाटो खोलेको हो।

असोज २ गते बोर्डले ३० दिने सूचना आह्वान गरी आवेदन दिन भनेको थियो। त्यसपछि नयाँ लाइसेन्सको लागि ४६ कम्पनीले आवेदन परेको थियो।

जसमा ४१ वटाले सीमित कार्य गर्न, ४ वटाले पूर्णकालीन र एउटाले स्टक डिलरको लागि आवेदन दिएका थिए।

सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ। त्यस्तै पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको लागि ६० करोड र धितोपत्र व्यापारी स्टक डिलर सञ्चालनको लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ।

नेपाल धितोपत्र बोर्डले नबिल सेक्युरिटिजलाई स्टक डिलर संचालनको लागि एलओआई दिएको छ। अब कम्पनीले पूर्वाधार तयार गर्नुपर्नेछ। कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनुपर्नेछ।

पूर्ण कार्य गर्न मेगा स्टकलाई पनि बोर्डले एलओआई दिएको छ । पूर्ण कार्य गर्ने ब्रोकरको लागि ६० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ। मेगा बैंक नेपाल इन्भेष्टमेण्ट बैंकमा गाभिइसकेकोले यसको लाभ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई हुने छ । बोर्डमा ४ कम्पनीले पूर्ण कार्य गर्ने ब्रोकरको लाइसेन्सको आवेदन दिएका थिए। आवेदन दिने ४ मध्ये मेगा स्टक मार्केटले एलओआई पाएको छ।

बोर्डले सीमित कार्यको लागि आवेदन दिने १४ कम्पनीलाई एलओआई दिएको छ।

बोर्डले हिमालयन ब्रोकेज कम्पनी, सीबीआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबी सेक्युरिटिज, आरबीबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सनी सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, आकाश भैरव सेक्युरिटिज, एलिट स्टक हाउस र एसपीएसएस सेक्युरिटिजलाई सीमित कार्य गर्ने धितोपत्र दलाल एलओआई दिएको छ। सीमित कार्यको गर्ने ब्रोकरको लागि २० करोड रुपैयाँ पुँजी तोकेको छ।

अधिकार क्षेत्र
सीमित र पूर्ण कार्य गर्ने गरी २ प्रकारका ब्रोकरको छुट्टाछुटै काम गर्न पाउनेछन। सीमित कार्य गर्ने ब्रोकरका लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य गर्ने ब्रोकरका लागि न्यूनतम ६० करोड रुपैयाँ तोकिएको छ ।

सम्बन्धित ग्राहकको नामबाट ग्राहकको आदेशअनुसार धितोपत्र खरिद वा बिक्री गर्ने ब्रोकरलाई सीमित कार्य गर्नेका रूपमा तोकिएको छ । हाल सञ्चालनमा रहेका ५० ब्रोकरले यही कार्यक्षेत्रभित्र रहेर व्यवसाय गरिरहेका छन्।

यस्तै, सम्बन्धित ग्राहकको नामबाट ग्राहकको आदेशअनुसार धितोपत्र खरिद वा बिक्री गर्ने, मार्जिन कारोबार, लगानी परामर्श सेवा, लगानी व्यवस्थापनसम्बन्धी काम र निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने अधिकार पाएको ब्रोकरलाई पूर्ण कार्य गर्ने भनेर तोकिएको छ ।

स्टक डिलर (आफ्नो नामबाट धितोपत्र खरिद वा बिक्री गर्ने तथा धितोपत्र दलाल, धितोपत्र प्रत्याभूति र योग्य संस्थागत लगानीकर्ताका रूपमा कार्य गर्ने) का लागि न्यूनतम १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीको तोकिएको छ ।

हाल सञ्चालनमा रहेका ५० ब्रोकर कम्पनीले २ वर्षभित्र तोकिएको चुक्ता पुँजी र्पुयाउनुपर्ने पर्नेछ। तोकिएको न्यूनतम चुक्ता पुँजी नपुग्ने ब्रोकरले लाइसेन्स खारेज हुने बोर्डले जनाएको छ।

Share Now

Leave a comment.