Prakash Adhikari May 2, 2023

काठमाडौं, १९ वैशाख । हरेक वर्षको बजेटमा कम्तीमा १ प्रतिशत आविष्कार र अनुसन्धानको क्षेत्रका लागि विनियोजन गरिनुपर्ने मागसहित आन्दोलनरत महावीर पुन र सरकारबीच सहमति भएको छ।

पुनको माग अनुरूप पुँजीगत बजेटको एक प्रतिशत छुट्टाउन र अनुसन्धान, विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालका लागि कोष स्थापना गर्न सरकार तयार भएको हो।

यससँगै पुनको नेतृत्वमा भइरहेका धर्नालगायत आन्दोलनका कार्यक्रम पनि अन्त्य भएका छन्।

रक्षा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्कासँगको छलफलपछि दुवै पक्ष आविष्कारसम्बन्धी कोषहरूमा लगानी गर्ने, स्थापित कोषको व्यवस्थापन तथा सञ्चालन गर्न सङ्घीय संसद्को आगामी अधिवेशनमा विधेयक पेशगरी पारित गर्नेलगायत निचोडमा पुगेका हुन्।

सहमति पत्रमा लेखिएको छ,”अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने। आविष्कारबाट उत्पादित वस्तु तथा सेवाहरूलाई आवश्यक पर्ने अनुमति लाइसेन्स, दर्ता, सञ्चालन तथा दिगोपन कायम गर्ने विषयसँग सम्बन्धित सुधारगरी सहजीकरण गर्ने।”

त्यस्तै मागपत्रमा उल्लिखित विषयहरूलाई कानुन बनाउँदा ध्यान दिने र तीबारे दुवै पक्ष बसेर समीक्षा गर्ने जनाइएको छ।

पुनका मागहरूमाथि आइतवार प्रारम्भिक छलफल भएको थियो। सोमवार पुनः बसेको बैठकपछि दुवै पक्ष सहमतिमा पुगेका हुन्।

“आइतवार हामीले आफ्नो मागमा तल माथि गर्दैनौँ भन्ने जानकारी दिएका थियौँ। उहाँहरूले ती माग सम्बोधन गर्छौँ भन्नु भएको छ। र, चाहने हो भने यो कार्यान्वयन गर्न एक रति पनि कठिन छैन,” राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख पुनले भन्नुभयो।

आफ्नो आन्दोलनमा धेरै राजनीतिक दलका नेता तथा सांसदहरूले ऐक्यबद्धता जनाएका कारण आफ्ना मागहरू सम्बोधन हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ।

यद्यपि, सरकार र पुनबीच भएको सहमति कार्यान्वयन चुनौतीपूर्ण रहेको कतिपय जानकारहरूले बताएका छन्।

संरचनागत फड्को

महावीर पुन र मन्त्री पू्र्णबहादुर खड्का

आविष्कारको क्षेत्रमा राज्यले लगानी गर्नु असाध्यै सुखद र स्वागतयोग्य कुरा भएको बताउँनुहुन्छ अर्थशास्त्री सुरेन्द्रकुमार उप्रेती।

उहाँका अनुसार तीव्र विकासमा जाने अर्थतन्त्र भएका देशहरू र विकसित देशहरूले आविष्कारको क्षेत्रमा कुल गार्हस्थ्य उत्पादनको २.५ देखि ५ प्रतिशतसम्म छुट्ट्याउँछन्। त्यसै गरी विकासशील देशहरूले कुल गार्हस्थ्य उत्पादनको १.५ प्रतिशत हाराहारी रकम यस्तो क्षेत्रमा लगानी गर्छन्।

नेपालजस्तो अति कम विकसित देशको हकमा भने कुल गार्हस्थ्य उत्पादनको ०.५ प्रतिशतभन्दा कम रकम आविष्कारमा, विज्ञान र प्रविधिको क्षेत्रमा लगाइने उहाँ बताउँनुहुन्छ।

“त्यो भनेको नेपालको पुँजीगत खर्च जति रकम त विकसित देशले आविष्कारमा खर्चन्छन्,” उहाँले बताउनुभयो।

“त्यसैले महावीर पुन लगायतसँग भएको सहमतिको आधारमा, पुँजीगत बजेट ४ खरब भए लगभग ४ अरब आविष्कारको क्षेत्रमा हुनेछ। र, यो ठूलो संरचनागत फड्को हो,” उहाँले थप्नुभयो।

नेपालको अर्थतन्त्र उत्पादनमा आधारित नभएकाले धेरै आर्थिक सङ्कटहरू देखिएको अर्थशास्त्री उप्रेतीको धारणा छ। त्यसमा उत्पादनको आधार बलियो नहुनुलाई प्रमुख कारणका रूपमा उहाँ व्याख्या गर्नुहुन्छ। र, त्यो आधार निर्माण तथा अन्य देशसँगको प्रतिस्पर्धी उत्पादनको लागि आविष्कार र विज्ञानमा खर्च गर्नै पर्ने उहाँ बताउँनुहुन्छ।

कार्यान्वयनमा चुनौती

आविष्कार

सहमति कार्यान्वयन र राज्यले आविष्कारका लागि बजेट छुट्टाएको खण्डमा त्यसको खर्चको पाटोमा भने उप्रेती संशय व्यक्त गर्छन्।

“हरेक वर्षको बजेटमा विविध शीर्षकमा आविष्कारको क्षेत्रका लागि बजेट छुट्टाइएको छ। विशेष गरी स्टार्टअपको लागि एक अरब बराबर विनियोजन भएको छ। तर त्यो रकम खर्च भएको छैन,” उहाँले भन्नुभयो।

महावीर पुन र निजी क्षेत्रका अन्यले दृढ रूपमा सरकारसँग सहकार्य गरे आविष्कार सम्भव भएको र त्यसले हाम्रो उत्पादनको आधारलाई सकारात्मक आड दिने उहाँले बताउनुभयो।

के हुन् पुनका मागहरू ?

  • अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष सङ्घीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्टाउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने। सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने। कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने।
  • सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन सांसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहु वर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने।
  • अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नव उद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने। सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने।
  • प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने। उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने।
Share Now

Leave a comment.