Prakash Adhikari May 2, 2023

नयाँदिल्ली (भारत), १९ वैशाख । एकै दिन ४ लाख ६६ हजार ८२ यात्रुले उडान गरेपछि भारतको आन्तरिक हवाई सेवामा एकै दिन सबैभन्दा धेरै व्यक्तिहरूले उडान गरेको कीर्तिमान बनेको छ।

गत एप्रिल ३० मा देशभरि भएका २ हजार ९ सय ७८ उडानमार्फत् उक्त रेकर्ड बनेको हो।

भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले ट्वीट गर्दै भन्नुभएको छ, कोभिड महामारीपछि आकाश छुने आन्तरिक यात्रुको सङ्ख्या भारतको उच्च वृद्धिको प्रतिविम्ब हो।

महामारीपछि भारतको आर्थिक सुधारले हवाई यात्रालाई उत्प्रेरित गरेको छ।

सन् २०२३ को पहिलो तीन महिनामै ३७ लाख ५० भन्दा बढी यात्रुहरू आन्तरिक जहाजबाट उडेका थिए।

भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार त्यो एक वर्ष अघिको सोही अवधिको तुलनामा ५१.७ प्रतिशतको वृद्धि हो।

भारत उड्डयन

माग बढ्दो

“कोभिडको समयमा दुई वर्षसम्म कुनै पनि वृद्धि भएको थिएन। अहिले हामीले माग बढिरहेको देखेका छौँ “, उड्डयन विश्लेषक मार्क मार्टिनले भन्नुभयो।

मार्टिनका अनुसार महामारीपछि पहिलो पटक उडान गर्नेको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ।

भारतमा हवाई ट्राफिक सामान्यतः देशको कुल गार्हस्थ्य उत्पादनको दोबर गतिमा बढिरहेको उहाँले बताउनुभयो।

त्यसको कारण एसियाको तेस्रो ठूलो अर्थतन्त्रमा खर्च गर्न मिल्ने आम्दानी बढ्नु रहेको उहाँको भनाइ छ।

यसअघि इन्टरन्याशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) को एक विवरणले भारतमा आन्तरिक उडानमा हुने यात्रा महामारी अघिको अवस्थामा फर्कन थालेको देखाएको थियो।

त्यो सन् २०१९ को फेब्रुअरीको तुलनामा २.२ प्रतिशतले मात्र कम थियो।

समस्या बाँकी
अमेरिका, जापान, अस्ट्रेलिया र ब्रजिलजस्ता देशहरूसँगको तुलनामा यात्रुभार अर्थात् जहाजहरूमा सिट यात्रुले भरिने प्रतिशतका आधारमा भारत आन्तरिक हवाई बजारका हिसाबले उच्च स्थानमा रहेको थियो।

तर स्वस्थ सुधारका बाबजुद उच्च इन्धन मूल्य, अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको अवमूल्यन र अलपत्र विमानलगायतका समस्याका कारण उड्डयन उद्योगले पीडा भोगिरहेको छ।

इन्जिनसँग सम्बन्धित समस्याका कारण इन्डिगो र गो फर्स्टजस्ता भारतीय विमान सेवाका जहाजहरू कैयौँ महिनादेखि ग्राउन्डेड भएका छन्।

मार्टिनले भन्नुभयो, “त्यस कारणले विमान सेवा कम्पनीहरूले अर्बौँ गुमाइरहेका छन्। यात्रुको चाप अनुसार आवश्यकता पूर्ति गर्न हामीलाई १ सय ५० भन्दा बढी जहाजको आवश्यकता पर्छ।”

गत फेब्रुअरीमा भारतको टाटा समूहको स्वामित्वमा रहेको एअर इन्डियाले विश्व हवाई इतिहासमै सबैभन्दा ठूलो एअरबस र बोइङका ४ सय ७० वटा विमान किन्ने सम्झौता गरेको छ।

Share Now

Leave a comment.