काठमाडौं, २५ वैशाख । नयाँ बजेटको सिद्धान्त, नीति र कार्यक्रमका बारेमा संसदमा छलफल आरम्भ हुँदा पनि ओरालो लागेको नेपालको शेयर बजारले उकालो चढ्ने जाँगर देखाएन ।
साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.९३ अङ्कले घटेर १८३३.६९ अङ्क कायम भएको छ ।
आज २ सय ७० कम्पनीको २८ लाख १० हजार ६ सय २७ कित्ता शेयर को खरिदबिक्रीबाट रू ८२ करोड ४२ लाख १७ हजार १ रुपैया ८५ पैसा बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह १२१.४९ र निर्जीवन बीमा समूह १०६.९४ अङ्कले घटेको छ ।
बैंकिङ समूह ६.५०, विकास बैंक १३.७१, वित्त १८.४१, होटल तथा पर्यटन ८४.५६ र जलविद्युत् समूह ४३.८० अङ्कले घटेको छ । त्यसैगरी लगानी समूह शून्य ०.१३, उत्पादन तथा प्रशोधन ३०. ३०, लघुवित्त २६.८०, म्युचुअल फन्ड ०.०१, व्यापार १२.३५ र अन्य समूह ८.७७ अङ्कले घटेको छ ।
यस दिन बिन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८.०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ३ करोड ७८ लाख २१ हजार बराबरको शेयर किनबेच भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख २० हजार ८ सय ६ कित्ता शेयर खरिदबिक्री भएको छ ।


















