Prakash Adhikari May 14, 2023

 

गुलरिया(बर्दिया), ३१ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतम जिल्लामै आमरण अनशन बस्नुभएकोे छ ।

पूर्वसिँचाइमन्त्री गौतम बारबर्दियाको भासिएको पुल निर्माणसहित १५ बुँदे माग राखेर भत्किएको पुलमुनि शनिबार साँझदेखि अनशनमा बस्नुभएको हो।

जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि बबई नदीको जब्दीघाटमा भासिएको पुलमुनि नदी तटमा उहाँले अनशन थाल्नुभएको हो ।

जब्दीघाटको भत्किएको पुल हटाएर तुरुन्त नयाँ पुल निर्माण गर्नुपर्ने गौतमको पहिलो माग छ।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल २०७४ सालमा भत्किएको थियो। सो ठाउँमा नयाँ पुल निर्माणका लागि ५ वर्षभन्दा बढी प्रयास गरेको भए पनि सरकारले कुनै चासो नदेखाएको गौतमको गुनासो छ।

त्यसैगरी गुलरियामा तटबन्धको बाँकी काम नियमित गर्नुपर्ने, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना तीन वर्षमा पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ तेलपानी सुर्खेत सडक यसै आर्थिक वर्षदेखि निर्माण सुरु गर्नुपर्ने लगायतका माग राख्दै उहाँ अनशनमा बस्नुभएको छ।

सदनबाट जति उठाए पनि यसतर्फ सरकारको ध्यान नगएकोलेअनशन बस्न बाध्य भएको गौतमले बताउनुभएको छ।

२०७४ सालको संसदीय चुनावमा वामदेव गौतमलाई पराजित गरेपछि सञ्जयकुमार गौतम राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चामा आउनुभएको हो ।

Share Now

Leave a comment.