Prakash Adhikari May 21, 2023

काठमाडौं, ७ जेठ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ९ सय ७५ जनासँग पैसा असुलिएको भन्दै भविष्यमा यो प्रकरण अझ भयावह रूपमा प्रकट हुने चेतावनी दिनुभएको छ ।

उहाँले अहिले दोषी उम्काउने र निर्दोष फसाउने प्रयास भइरहेको भन्दै जुनसुकै किसिमको छानबिनका लागि आफू र आफ्नो दल तयार रहेको बताउनुभयो।

ओलीले भन्नुभयो, “हामी सधैँ भ्रष्टाचारको विपक्षमा छौँ। छानबिन होस भन्ने पक्षमा छौँ। निर्दोष फसाउने प्रयास भइरहेको छ, म खबरदारी गर्न चाहन्छु। दोषी उम्काउने र निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ किनभने यो कुरा भोलि अझ भयावह रूपमा निस्कन्छ।”

एमाले अध्यक्ष ओलीले थप्नुभयो, “आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिँदैन। ९ सय ७५ जना मान्छेसँग पैसा उठाइएको छ। यो चानचुने कुरा हो ? त्यसकारण यो भोलि पनि निस्कन्छ।”

आफू नेतृत्वको सरकारमाथिका आरोप अस्वीकार
भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम सम्पन्न भइसकेको र त्यो फेरि सञ्चालन नहुने राष्ट्रसङ्घको भनाइ छ

ओलीले निष्पक्ष र तटस्थ ढङ्गले जाँच गरिनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले प्रमुख तीन दलका नेताहरू पटक पटक भेट गर्दा ूदुइटा नेता दूधमा नुहाएका र म चाहिँ ल न मेरा मान्छे बचाइदेऊ भनेर म्याउँ म्याउँ गर्‍योू भन्ने खालका टिप्पणी भएका भन्दै ओलीले आफू ूभोकै मर्ने तर घाँस नखानेू बताउनुभयो।

भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम सम्पन्न भइसकेको र त्यो फेरि सञ्चालन नहुने राष्ट्रसङ्घको भनाइ छ
यसमा आफू नेतृत्वको सरकारलाई जोडेर आरोप लगाइएको उल्लेख गर्दै उहाँले आफ्नो नेतृत्वको सरकार रहँदा शरणार्थी सम्बन्धी कार्यदल गठन गरिएको भए पनि आफ्नो बेलामा उक्त प्रतिवेदन समितिमा पठाउने बाहेक केही नगरिएको दाबी गर्नुभयो।

पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “मैलै अध्ययन गर्न भनेर ‘होल्ड गरे’। मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाए। मलाई त पिङ खेलाएको खेलाइ हुनुहुन्थ्यो। त्यस बेला मुद्दा मामिला, धुलोमा मिलाइदिन्छु भनेको छ, मसँग कागजतिर हेर्ने समय पनि थिएन। तर म सरकारमा नभएपनि त्यति बेला अर्कै सरकारले फिर्ता पठाएको मैले सुनाएको छु। त्यो ४२९ जना वास्तविक भुटानी शरणार्थी नै थिए।”

उहाँले विस्तारपूर्वक भन्नुभयो,”त्यसपछि कागज फेरियो। माथिको कभर चाहिँ उही राखियो। तलको व्यक्तिहरूको सूची चाहिँ परिवर्तन गरियो। परिवर्तन गर्ने को हो ? खोज्नु पर्दैन? परिवर्तन गर्ने खोजौँ न।”

उनले यो काण्डबारे गएको वर्षको जेठमा प्रहरीकोमा उजुरी पर्दा किन गुपचुप राखियो र मिलाउने प्रयास गरियो भन्ने प्रश्न पनि गरेका छन्।

पचाउन र दबाउनसक्ने घटना नभएकाले नै भुईँचालो आएको भन्दै ओलीले कसैले पनि यसलाई रोक्न नसक्ने भएपछि प्रकरणले विस्फोटक स्वरूप लिएको बताउनुभयो ।

पुनर्वास कार्यक्रमको पृष्ठभूमीबारे ओली

विगतमा गृहमन्त्री र परराष्ट्र मन्त्री रहँदा ओलीले भुटानी शरणार्थीको विषयमा थिम्पु र अन्तर्राष्ट्रिय समुदायसँग नजिकबाट छलफल गर्नुभएको थियो।

आफ्नै गृह जिल्लामा भुटानी शरणार्थीका शिविर रहेकाले कतिपयले शरणार्थी मामिलालाई गहिरोसँग बुझ्ने नेताका रूपमा ओलीलाई लिन्छन्।

भुटानसँगका कैयौँ चरणका औपचारिक र अनौपचारिक वार्ताहरू विफल भएपछि सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदा आफूले अमेरिकासँग शरणार्थीको पुनर्वासको कुरा उठाएको ओलीले संसद्‌मा बताउनुभयो।

आफूले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशसँग महासभाको मेसो पारेर गरिएको रात्रीभोजमा पुनर्वासको कुरा गरेको र त्यसपछि तत्कालीन अमेरिकी विदेश मन्त्री कन्डोलिजा राइससँगको छलफलपछि अमेरिकाले ६० हजार शरणार्थी पुनर्वासमा लैजाने प्रतिबद्धता जनाएको उहाँले खुलाउनुभयो।

सन् २००६ मा तत्कालीन अमेरिकी विदेशमन्त्रीसँग ओली

सन् २००६ मा तत्कालीन अमेरिकी विदेशमन्त्रीसँग तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री ओली

यूएनएचसीआरले नेपालबाट १ लाख १३ हजारभन्दा धेरै भुटानी शरणार्थीहरूलाई विभिन्न ८ वटा देशमा पुनर्वास भएको जनाएको छ।

त्यसमा झन्डै १ लाख शरणार्थीलाई अमेरिकाले स्वीकारेको थियो।

नेपालमा रहेका भुटानी शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा नै सम्पन्न भइसकेको र त्यो फेरि सञ्चालन नहुने उक्त राष्ट्रसङ्घीय शरणार्थी निकायको भनाइ छ।

केही दिनअघि पार्टीको बैठकमा ओलीले झन्डै ४ सय नक्कली भुटानी शरणार्थी अमेरिका पुगिसकेको बताउनुभएको थियो।

संसद्‌मा यो प्रकरणबारे विस्तृत रूपमा कुरा राख्ने बताएका ओलीले आफू अस्वस्थ भएको भन्दै ज्येष्ठ ४ गते गर्ने भनिएको आफ्नो सम्बोधन पछि सरेको जनाउनुभएको थियो।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोलिरहेको समयमा उहाँले आफ्नो सम्बोधनको एउटा हिस्सा शरणार्थी प्रकरणमा केन्द्रित गर्नुभएको थियो।

कतिपयले ओलीले पुनर्वासमा गइसकेका भनिएका नक्कली भुटानी शरणार्थीहरूबारे सुनाएका विवरणको थप सोधखोज र अनुसन्धान हुनुपर्ने बताइरहेका छन् ।

शरणार्थी प्रकरणलाई लिएर गत साता राजधानी काठमाण्डूमा भएको प्रदर्शनमा सहभागी
शरणार्थी प्रकरणलाई लिएर गत साता राजधानीमा प्रदर्शन भएको थियो

नेपालमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, बहालवाला सचिव सहित कैयौँ उच्चपदस्थ अधिकारीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको पछिल्लो प्रकरणबारे संयुक्त राज्य अमेरिकाले कुनै प्रतिक्रिया दिएको छैन।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सङ्गठित गिरोहलाई राजनीतिक र प्रशासनिक संयन्त्रको पनि साथ रहेका विवरण आएपछि संयुक्त राष्ट्र सङ्घको शरणार्थी हेर्ने निकायले चिन्ता व्यक्त गरेको थियो।

जिल्ला प्रहरी परिसर अनुसार यो प्रकरणमा २० वटा उजुरी परेका छन्।

आफू ठगिएको भन्दै १ सय ६ जना प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएको थियो। त्यसरी ठगिएका भनिएका व्यक्तिमा पूर्वको झापादेखि पश्चिम नेपालको दाङ र गुल्मीका छन्।

पीडितको सङ्ख्या अझ बढ्नसक्ने आशङ्कासहित अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले बीबीसीलाई बताउनुभएको थियो।

“अहिलेसम्मका उजुरीका आधारमा २३ करोड रुपैयाँ जति ठगी गरिएको देखिन्छ। उजुरी दिनेमा विद्यार्थीदेखि गृहिणीसम्म छन्। अन्य पनि पीडित छन् कि भनेर हामी हेर्दै छौँ”,रिजालले भन्नुभयो ,

मुद्दा दायर गर्ने ६० दिनको हदम्याद नजिकिएकाले प्रहरीले उक्त प्रकरणबारेको अनुसन्धानको निष्कर्षसहितको विवरण सरकारी वकिललाई बुझाउने अन्तिम तयारी गरिरहेको छ।

यस्तोमा ओलीले प्रतिनिधिसभामा व्यक्त गरेको धारणालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पूर्व गृहमन्त्री खाणसहित कैयौँ उच्च पदस्थ अधिकारी यो प्रकरणमा पक्राउ परेका छन्

Share Now

Leave a comment.