काठमाडौं , १२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मित्रराष्ट्र चीनले आयोजना गर्दै आएको बोआओ सम्मेलनमा अनुपस्थित भएको सम्बन्धमा दिएको अभिव्यक्तिको चिनियाँ राजदूत छन् सोङले आपत्ति प्रकट गर्नुभएको छ ।
उहाँले बिहीबार प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर सो अभिव्यक्तिमा असन्तुष्टि प्रकट गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले गत मंगलबार राष्ट्रिय सभामा बोल्ने क्रममा चिनियाँ राजदूतकै आग्रहमा बोआओ फोरममा आफू नगएको अभिव्यक्ति दिनुभएको थियो।
सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले चिनियाँ राजदूतले बोआओ फोरममा सहभागी हुन अनुकूल वातावरण नदेखिएकोले चीनको औपचारिक भ्रमण पछि मिलाउने बचन दिनुभएको बताउनुभएको थियो।
ुउत्तरले बोआओ फोरममा निम्ता गरेको पक्कै पनि हो। तर त्यहाँ नजाने भनेर नेपाल सरकारले निर्णय गरेको होइन। माननीय सदस्यहरूलाई प्रस्ट होस्, बरु चिनियाँ राजदूतले नै यहाँको राष्ट्रपति र उपराष्ट्रपति चुनावको दबाब, गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि सरकारको अफ्ठ्यारो बुझेर तपाईँ बोआओ फोरममा जान सम्भव देखिरहेको छैन। अलि पछि गरौं कि चीन भ्रमण भनेपछि मैले उहाँलाई मर्का बुझिदिनुभएको धन्यवाद भनेको थिएँ,ु उहाँले भन्नुभएको थियो।
स्रोतका अनुसार राजदूत छन् सोङ बिहान १० बजे प्रधानमन्त्री निवास पुग्नुभएको थियो। करिब १ घण्टा छलफल गरेर उहाँ बाहिरिनुभएको थियो ।
यसैबीच प्रधानमन्त्री प्रचण्ड बजेट लगत्तै जेठ १७ देखि २० सम्म भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय मिडियासँगको अन्तर्वार्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका थिए।
भारत भ्रमण सकेर फर्किएपछि उहाँ चीनको भ्रमणमा जानुहुने बताइएको छ ।