Prakash Adhikari April 12, 2018

 

काठमाडौं ,२८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यावशाय क्षेत्रमा अत्याधुनिक प्रविधिको उपयोग गरेर गुणस्तरीय वस्तु र सेवा उत्पादन गर्न उद्यमी र व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं बार्षिक साधारण सभा एवं उद्योग( वाणिज्य दिवशको बुुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “अब हामीले अन्यत्र काम नलाग्ने भइसकेका सीप,प्रविधि भित्र्याएर होइन विल्कुलै नयाँ प्रविधि प्रयोग गरेर देशलाई अघि बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “यस्तो प्रविधि हरेक क्षेत्रमा उपयोग गर्नुपर्दछ ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै क्षेत्रले आफ्ना प्रयासहरुलाई विकास र समृद्धितर्फ केन्द्रित गर्नु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा चाँडै रेल सेवा सञ्चालन हुने भएकोले त्यसबाट फाइदा लिने गरी तयारी गर्न व्यावसायीहरुलाई आग्रह गरे ।

“अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ । रकसौलबाट आँउदा रेल भरिएर आउने जाँदा रित्तै जाने स्थिति हुनुहुदैन” प्रधानमन्त्री ओलीले भने “काठमाडौंबाट फर्कदा पनि रेल भर्नका निर्यातजन्य उत्पादनमा लाग्नुहोस् ।”

प्रधानमन्त्री ओलीले आगामी दुईबर्ष भित्र उद्योगलाई चाहिने जति विद्युत दिन सरकार सक्षम हुने बताए ।
“अब बिजुली हुदैन कि भनेर उद्योग सञ्चालन गर्न नहिच्किचाउनुहोस” प्रधानमन्त्री ओलीले थपे “आगामी दुईबर्षभित्र उद्योगलाई चाहिनेजति बिजुली उपलब्ध गराउन सकिन्छ ।”

प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि बताए । निजी क्षेत्रका समस्याहरुलाई सुचिकृत गरेर सरकारलाई पेश गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने “तपाईंहरुका जायज समस्या समाधान गर्न सरकार सदैव तयार छ ।”

उद्घाटन समारोहमा महासंघका अध्यक्ष भवानी राणाले प्रधानमन्त्रीको सम्बृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल पार्न व्यवसायीहरू पनि एकजुट भएर लाग्ने बताएकी थिइन । उनले सरकार समक्ष २०७५ देखि २०८५ लाई ‘समृद्धि अभियान दशक’ रुपमा घोषणा गर्न माग समेत गरिन्।

उनले प्रधानमन्त्री समक्ष संघीयतामा गएपछि देखिएको दोहोरो कर प्रणालीलाई अन्त्य गर्नुपर्ने माग पनि गरिन ।

महासघकी अध्यक्ष राणाले मुलुकको अर्थतन्त्र निकै कमजोर रहेकाले मुलुकलाई समृद्धिको अभियानमा लैजान नेपालमा लगानीको वातावरण बनेको र प्रशस्त अवसरहरू सिर्जना भएको संदेश रिाष्ट्रियरअन्तराष्ट्रिय रुपमा दिन तत्काल प्रभावकारी कदम चाल्न पनि सुझाव दिइन्।

कार्यक्रममा धन्यवाद मन्तव्य दिदै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लगानीको वातावरणको लागि आवश्यक आधारभूत कुरा नीतिगत निरन्तरता, सरल एवं सहज किसिमको प्रकृयागत सुधार, खुल्ला बजारको अवधारणा अनुसारको ऐन नियमको संशोधन, विधिको शासन, सरल तथा सुलभ पूंजीको उपलव्धता, समयमा निर्णय गर्ने परिपाटीको विकासले देशमा अनुकूल औद्योगिक र व्यवसायिक वातावरण सृजना हुने विश्वास व्यक्त गरेका थिए ।

उनले करको मुद्दामा ५० प्रतिशतसम्म धरौटी राख्नु पर्ने व्यवस्था अव्यवहारिक भएको बताउदै यसलाई संशोधन गर्न आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले उद्योग व्यवसाय क्षेत्रमा अनुगमनको नाममा एक दर्जन भन्दा बढी निकायहरूले अनावश्यक दुःख दिने गरेको बताए ।

कार्यक्रममा महासंघका सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघहरुलाई विभिन्न विधामा कदरपत्र सहित सम्मानित गरिएको थियो ।

Share Now

Leave a comment.