अहमदावाद(गुजरात), १६ जेठ । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ ।
गुजरातको राजधानी अहमदाबादमा भएको फाइनल खेलमा अघिल्लो सिजनको विजेता गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नाईले उपाधि जितेको हो ।
वर्षाका कारण प्रभावित खेलमा चेन्नाईले गुजरातलाई ५ विकेटले हराउँदै पाँचौ पटक आईपीएल उपाधि आफ्नो नाम गरेको छ । डीएलएस मेथडका आधारमा १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पछ्याएको चेन्नाईले अन्तिम बलमा जित हात पारेको हो । अन्तिम २ बलमा १० रनको चाहिएको बेलामा रविन्द्र जडेजाले मोहित शर्माको बलमा एक छक्का र एक चौका प्रहार गर्दै चेन्नाईलाई उपाधि दिलाएका हुन् । उनले ६ बलमा १५ रन बनाए ।
चेन्नाईका ओपनर डेभन कोन्वेले ४७ रन तथा ऋतुराज गायक्वाडले २६ रन बनाए । यस्तै शिवम दुवेले अभिजित ३२ रन बनाउँदा अजिंख्य रहाणेले २७ तथा अम्बाती रायुडुले १९ रन, रविन्द्र जडेजाले १५ बनाएका थिए ।
चेन्नाई सुपर किंग्सलाई पराजित गुजरातका मोहित शर्माले ३ तथा नुर अहमदले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । गुजरातका लागि शाई सुदर्शनले सर्वाधिक ९७ रन बनाए । यस्तै ऋद्धिमान शाहाले ५४ तथा शुभमन गिलले ३९ रन बनाए भने हार्दिक पाण्डेयले २१ रनको योगदान दिएका थिए ।
गुजरातलाई रोक्ने क्रममा चेन्नाईका मथिसा पाथरानाले २ तथा रविन्द्र जडेजा र दिपक चाहारले १ । १ विकेट लिएका थिए ।