Prakash Adhikari April 13, 2018

विराटनगर(मोरड.),२९ चैत्र । प्रदेशको बजेट सार्वजनिक गर्नेमा प्रदेश १ पहिलो भएको छ । प्रदेश सरकारको तर्फबाट प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले बिहिबार प्रदेशसभा समक्ष चालु आर्थिक वर्षको बाँकी तीन महिनाका लागि बजेट १ अर्ब २करोड ५लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

बजेटमा चालु खर्चतर्फ ५४ करोड ३४ लाख र पूँजीगत खर्चतर्फ ४७ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेटमा गरिवका लागि खाद्यान्न कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। यो रकमबाट प्रदेशमा रहेका १४ जिल्लाका एक एक स्थानीय तहमा गरिब र विपन्न पहिचान गरी परिचयपत्र वितरण गरेर सुपथ मूल्यमा खाद्यान्न प्रदान गर्ने उद्देश्य राखिएको छ।

प्रस्तुत बजेटमा कृषि क्षेत्रको विकासका लागि ४ करोड ७६ लाख, पर्यटनको विकासका लागि छ करोड ५३ लाख, जलस्रोत, ऊर्जा तथा भौतिक पूर्वाधार विकासका लागि १४ करोड ३३ लाख र सामाजिक क्षेत्रका लागि १२ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेश सरकारले प्रदेशका सबै सामुदायिक विद्यालयका विद्यार्थीका लागि निःशुल्क खाजाको व्यवस्था गर्ने मन्त्री आङ्बोले बताए। यस्तै, प्राकृतिक प्रकोपपीडितको राहतका लागि दुई करोड ४१ लाख रुपैयाँ छुट्याएको छ। बजेटले कृषि, पर्यटन, जलस्रोत र ऊर्जा, भौतिक पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखेको छ।

अर्थतन्त्रलाई समाजवाद उन्मुख बनाउने प्रयाससहित बजेट निर्माण गरेको मन्त्री आङ्बोले संसदलाई जानकारी दिए।

बजेटले वाम गठबन्धनले गएको चुनावमा जनताबीच लगेको चुनावी घोषणापत्रलाई आधार बनाएको पनि आर्थिक मामिलामन्त्री आङ्बोले संसदमा जानकारी गराए।

प्रदेश सरकारले अन्य स्रोत नभएकाले संघीय सरकारले दिएको अनुदानबाटै बजेट निर्माण गरेको हो।

आगामी आर्थिक वर्षदेखि भने प्रदेश सरकारले आन्तरिक स्रोतलाई समेत समेटेर बजेट निर्माण गर्ने मन्त्री आड.बोको भनाइ छ।

प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा पेस गरेको चालु आर्थिक वर्षको बजेट नोट नभएर भोटअनुसार मात्रै भएको प्रतिक्रिया दिएको छ।

Share Now

Leave a comment.