केदारनाथ( भारत), ४ आषाढ । केदारनाथको द्वार खुलेपछि धाममा हालसम्म ६८ जना तीर्थयात्रीको मृत्यु भएको छ।
२५ अप्रिलमा केदारनाथमा यात्रा सुरु भएदेखि दुई महिनाको अवधिमा हालसम्म ६८ तीर्थयात्रीको मृत्यु भएको हो। अधिकांशको मृत्यु हृदयघातका कारण हुने गरेको छ।
स्वास्थ्य विभागले अहिलेसम्म ३ हजारभन्दा बढी यात्रुलाई अक्सिजन सुविधा उपलब्ध गराएको छ। गत वर्षको तुलनामा यो संख्या कम हो।
केदारनाथ यात्राको मुख्य बिसौनीसँगै हिँड्ने मार्गमा पनि तीर्थयात्रीको स्वास्थ्य परीक्षण भइरहेको छ। सोनप्रयागमा स्वास्थ्य विभागका चिकित्सक र प्यारामेडिकल कर्मचारीले सम्बन्धित यात्रुको सुगर, रक्तचाप र अक्सिजनको मात्रा जाँच गरिरहेका छन्।
केदारनाथ धाम दर्शन गर्न आउने भक्तजनको स्वास्थ्यमा समस्या देखिएमा स्वास्थ्य विभागले तत्काल स्वास्थ्य परीक्षण गरी उपचार गरिरहेको प्रमुख चिकित्सा अधिकृत डा. एचसीएस मार्तोलियाले बताए। आइतबार आकस्मिक र ओपिडीसहित १ हजार ८ सय ९१ भक्तजनको स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो ।
हालसम्म ओपीडी र आकस्मिक सुविधासहित १० हजार ३ सय ५६ र ओपिडीबाट मात्र ९२ हजार ५ सय ६२ तीर्थयात्रीको उपचार भएको छ। जसमा ७३ हजार १ सय ८२ पुरुष र १९ हजार ३ सय ८० महिला रहेका छन्।


















