Prakash Adhikari June 19, 2023

बेइजिड.(चीन), ४ आषाढ(बीबीसी) । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कन अहिले चीन भ्रमणमा हुनुहुन्छ । उहाँलेले चिनियाँ अधिकारीहरूसँगको दुई दिने वार्ताको सुरुमा बेइजिङमा चिनियाँ विदेश मन्त्री किन गांगसँग भेट गर्नुभएको छ।

यो करिब पाँच वर्षमा अमेरिकी कूटनीतिज्ञले गरेको पहिलो चीन भ्रमण हो।

अमेरिकी अधिकारीहरूले वार्ताको मुख्य लक्ष्य अत्यन्तै तनावपूर्ण भएको सम्बन्धलाई स्थिर बनाउनु रहेको बताएका छन्।

अमेरिकी आकाशमा एक सन्दिग्ध चिनियाँ जासुसी बलुनको उडानपछि करिब पाँच महिनाअघि ब्लिङ्कनको भ्रमण स्थगित गरिएको थियो।

अमेरिकाले यो यात्राबाट प्राप्त हुनसक्ने उपलब्धिका अपेक्षाहरूलाई घटाउँदै लगेको छ र दुवै पक्षले कुनै ठूलो सफलताको आशा नगरेको स्पष्ट पारेका छन्।

अमेरिकी अधिकारीहरूले यस भ्रमणको उद्देश्य भनेको उच्चस्तरीय वार्ताका ढोकाहरूलाई पुनः खोल्नु र बलुन उडाइएको घटनापछि तनावपूर्ण बनेको सम्बन्धलाई स्थिर राख्नु रहेको बताएका छन्।

चीनले आफ्नो अभिन्न अङ्ग मान्ने ताइवान नजिकै सैन्य अभ्यास गर्ने गरेको छ।

अमेरिकाले चाहिँ ताइवानको लोकतान्त्रिक रूपमा निर्वाचित सरकारसँग घनिष्ठ सम्बन्ध राख्छ।

यो भ्रमणमा किन गांग र वरिष्ठ चिनियाँ विदेश नीति अधिकारी वाङ यीसँगको भेटघाट सहितको पूर्ण एजेन्डाहरू छन्।

युक्रेनमा जारी युद्ध, उन्नत कम्प्युटर प्रविधिलाई लिएर उत्पन्न व्यापार विवाद, चिनियाँ मानवअधिकार आचरणलगायतका विषयमा अमेरिकीहरूले छलफल गर्न अपेक्षा गरिएका छन्।

चिनियाँ अधिकारीहरूले ब्लिङ्कनको भ्रमणप्रति सावधानीपूर्वक प्रतिक्रिया व्यक्त गरेका छन् र अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासमा इमानदार छ कि छैन भनेर प्रश्न उठाएका छन्।

विदेश मन्त्री ब्लिड.कनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेट्ने वा भेट्न नपाउने भन्ने स्पष्ट छैन।

ब्लिङ्कन सन् जनवरी २०२१ मा राष्ट्रपति जो बाइडनले पद सम्हालेयता चीन भ्रमण गर्ने उच्च अमेरिकी अधिकारी हुन्।

ब्लिङ्कन भ्रमणका मुख्य मुद्दा

सम्बन्ध सुधार

ब्लिङ्कनको भ्रमणको पहिलो र प्रमुख कुरा भनेकै अमेरिका र चीनबीच कुनै पनि प्रकारको कूटनीतिक अन्तरक्रियालाई पुनः स्थापना गर्नु हो।

गत महिना अस्ट्रियाको भियनामा वरिष्ठ अमेरिकी अधिकारी र चिनियाँ अधिकारीहरूबीच भएको भेटले त्यसको प्रारम्भिक थालनी गरेको थियो।

ब्लिङ्कन चीन भ्रमण गर्ने बाइडन प्रशासनका सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ र अक्टोबर २०१८ पछि अमेरिकी विदेश मन्त्रीको यो पहिलो बेइजिङ भ्रमण हो।

अमेरिका चीन सम्बन्धबारे जानकार विज्ञहरू द्वन्द्वको जोखिमलाई कम गर्नका लागि दुई पक्षबीच प्रत्यक्ष कूटनीतिक संवाद हुनु जरुरी भएको ठान्छन्।

र, ब्लिङ्कनको भ्रमणले त्यसको थालनी गर्न सक्ने ठानिएको छ।

व्यापार विवाद कम गर्ने प्रयास

राष्ट्रपति बाइडनको कार्यकाल चीनसँगको असहज सम्बन्धसँगै सुरु भयो।

त्यसको एउटा कारण उनले ट्रम्प प्रशासनले लागु गरेका व्यापार प्रतिबन्धहरूलाई हटाउने इच्छा नदेखाउनु पनि हो।

त्यस्ता प्रतिबन्धका कारण चिनियाँ उत्पादनहरूले अमेरिकामा अरबौँ डलरको आयात शुल्क बेहोर्नु परेको छ।

केही क्षेत्रमा बाइडनले अझ कडा कदम चाल्नुभएको छ।

उन्नत कम्प्युटर तथा इलेक्ट्रोनिक्स प्रविधिमा अमेरिकी दबदबा कायम राख्ने प्रयासमा चीनमा अमेरिकी कम्प्युटरचिप निर्यातमा प्रतिबन्ध लगाइएको छ।

त्यसको प्रतिक्रियामा चीनले सबैभन्दा ठूलो अमेरिकी चिप निर्माता माइक्रोनले बेच्ने कम्प्युटर मेमोरी चिप्समा आफैँले प्रतिबन्ध लगाइदिएको छ।

ब्लिङ्कनको भ्रमणले अमेरिका र चीनबीच जारी यस्तो लडाइँलाई कम गर्ने एउटा महत्त्वपूर्ण पहलको रूप लिन सक्नेछ।

युद्ध रोक्ने प्रयास

बलुन घटनापछि चीनले रुसलाई अस्त्र पठाउने विचार गरिरहेको र ती अस्त्रहरू तुरुन्तै युक्रेन विरुद्धको युद्धमा प्रयोग हुनसक्ने खबरहरू आएका थिए।

युक्रेन रुस द्वन्द्व अमेरिका र चीनबीचको छद्म युद्धमा परिणत हुनसक्ने र दुई राष्ट्रबीचको विशेष विवादास्पद मुद्दा हुन सक्ने जोखिममालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरू पछिल्लो समय ती आरोपहरूबाट पछि हटेका छन्।

तर ब्लिन्कनले भियनामा चिनियाँहरूलाई दिएको चेतावनीलाई दोहोर्‍याउने अपेक्षा गरिएको छ।

भियनामा अमेरिकी अधिकारीहरूले चीनले रुसलाई सैन्य र आर्थिक सहायता दिएमा त्यसको गम्भीर परिणाम हुने चेतावनी दिएका थिए।

Share Now

Leave a comment.