काठमाडौँ, ३१ असार (रासस) : परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जानुहुने भएको छ । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जानुहुनेभएको हो ।
परराष्ट्र साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १ः३० बजे थाइ एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । उहाँ सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भइ मंगलबार स्वदेश फर्कनुहुनेछ ।
बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय संगठन हो । प्रारम्भिक रूपमा यो संगठन ‘बिस्टेक’ (बंगलादेश-भारत-श्रीलंका-थाइल्याण्ड आर्थिक सहयोग) को रूपमा थियो । सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भइ यो संगठन अब बिमस्टेकको रूपमा चिनिन्छ ।
—