Prakash Adhikari April 16, 2018

काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका नेताहरु सार्वजनिक कार्यक्रममै एकर्काविरुद्ध खनिएका छन् ।

नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघले आइतबार आयोजना गरेको एक कार्यक्रममा सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमाथि निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारबाही गर्न नदिएको आरोप लगाए ।

नेता खुमबहादुर खड्काको निधनका कारण स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुचारु गर्ने कुनै सुरसार छैन् ।

तर बैठकमा आफूमाथि भएको प्रहारको प्रतिक्रिया सभापति देउवाबाट सार्वजनिक कार्यक्रममा प्रकट हुन थालेको छ ।
कार्यक्रममा पार्टी सभापति देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई पार्टीबाट निस्काशन नगरेसम्म अघि बढाउन सक्ने अवस्था नरहेको बताए ।

कार्यक्रममा देउवाले अन्तरघातकै कारण पार्टीले ४० सिट गुमाउनु परेको बताए । साथै एमाले र माओवादीबीच भएको एकताले पनि निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको उनले बताए ।

संविधान कार्यान्वयनका लागि आफ्नो नेतृत्वको सरकारले चुनाव गराएको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘तर, जित्ने बेलामा प्रचण्ड उता मिलिदिए । दुई पार्टी मिलेको थाहा छैन ? कोही बोल्दैन । अहिलेसम्म सुन्दै सुनेनन् ।’

रामचन्द्र पौडेल समेत हारेको भन्दै उनले भने, अन्तरघातीहरुलाई माफी दिने कि कारबाही गर्ने रु जबसम्म अन्तरघातीलाई पार्टीबाट निकालिँदैन, यो पार्टी अगाडि बढ्दैन ।’

उनले अघि भने, ‘उहाँ भन्नुहुन्छ, मलाई हराइयो, कारबाही गर्न पनि डराउनुहुन्छ । कहाँ हुन्छ ?

कांग्रेस सभापति देउवाले एमाले र माओवादीको एकतालाई चुनौतीको रुपमा लिएर पार्टी भित्रको एकतालाई बलियो बनाउन प्राध्यापकहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मशील कांग्रेस आवश्यक रहेको बताए ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गुट, उपगुटकै कारण कांग्रेसले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको बताए । उनले गुटउपगुटबाट पार्टीलाई मुक्त राख्न बुद्धिजीविहरुले आवश्यक पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।

गत बैशाख ३१ देखि भएको तीन चरणको(बैशाख ३१, आषाढ १४ र असोज २) स्थानीय निर्वाचन तथा दुई चरणमा भएको प्रतिनिधि सभा र प्रदेश सभा(मंसिर १० र २१) को निर्वाचनको समीक्षा गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक बसिरहेको बेला नेता खुमबहादुर खड्काको असामयिक देहावसान भएकोले स्थगित गरिएको बैठक अझै सुचारु भएको छैन् । निर्वाचनको पराजयको बारेमा नेपाली कांग्रेसको आधिकारिक दृष्टिकोण सार्वजनिक भएको छैन् ।

तर निर्वाचनको पराजयलाई आधार देखाएर पार्टीभित्रका प्रतिस्पर्धी सखाप पार्न अन्तरघातको आरोप कांग्रेसको संस्थापन पक्ष र गुट उपगुट सबैले लगाउदै छन् ।

Share Now

Leave a comment.