क्रेमलिन(रुस),३ बैशाख (बीबीसी) । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाविरुद्ध पश्चिमा शक्तिहरूले थप क्षेप्यास्त्र हमला गरे त्यसले अन्तर्राष्ट्रिय स्तरमा अस्तव्यस्तता निम्त्याउने बताएका छन्।
इरानी राष्ट्रपति हशन रुहानीसँग भएको टेलिफोन कुराकानीका क्रममा सिरियाली सरकारका दुई महत्त्वपूर्ण साझेदारले ती हमलाले सिरियामा ‘राजनीतिक निकासको सम्भावनालाई क्षीण पारेको’मा सहमति जनाएका छन्।
रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने सङ्गठन (ओपीसीडब्ल्यू)का अनुगमनकर्ताहरुको एउटा टोली रासायनिक हमला भएको भनिएको सिरियाको डुमा नगरतर्फ छानबिनका लागि जाने ठानिएको छ।
गत हप्ता दर्जनौँ मानिसको ज्यान जाने गरी डुमामा रासायनिक हमला भएको भनिएको छ।

सिरियामा रहेका रासायनिक अस्त्रहरूको भण्डारण केन्द्रमाथि संयुक्त राज्य अमेरिका, फ्रान्स तथा ब्रिटेनले संयुक्त क्षेप्यास्त्र हमला गरेको भोलिपल्टै त्यो टोली डुमातर्फ लाग्दैछ।
पुटिनले डुमामा गत हप्ताको शंकास्पद रासायनिक हमला नियोजित रूपमा कसैले गराएको र त्यसलाई आक्रमण गर्ने बहानाका रूपमा प्रयोग गरिएको बताउँदै आएका छन्।
सिरियाका राष्ट्रपति बसर अल-असदले ती हमलाहरुले उनलाई विपक्षीहरूकाविरुद्ध लड्न पहिलेको भन्दा थप प्रतिबद्ध बनाएको बताएका थिए।
पश्चिमा देशहरुले विश्वसनीयता गुमाएको पनि असदले आरोप लगाए।


















