Prakash Adhikari April 17, 2018

दमास्कस(सिरिया), ४ बैशाख (बीबीसी) । सिरियामा रासायनिक अस्त्र हमला भएको सन्दिग्ध स्थानको भ्रमण गर्न बुधवार अन्तराष्ट्रिय विज्ञहरूलाई अनुमति दिइने रुसले जनाएको छ।

ब्रिटेन र संयुक्त राज्य अमेरिकाले मस्को र सिरियाले वास्तविकता लुकाउने प्रयास गरिरहेको र अनुगमनकर्ताहरूलाई सिरियाली सरकारी फौजले डुमामा गराएको भनिएको हमलाबारे सूचना संकलन गर्नबाट रोकिरहेको आरोप लगाएका छन्।

रासायनिक अस्त्र प्रयोग सम्बन्धी अन्तराष्ट्रिय निगरानी समूहले सिरियाली अधिकारीहरूले उनीहरूकै शब्दमा सुरक्षाको कारण देखाउँदै पहुँच नदिएको बताएको थियो।

हमलास्थलमा पाइन सक्ने प्रमाणहरू नष्ट गरिरहेको भन्ने अमेरिकी आरोपलाई अस्वीकार गर्दै रुसले कुनै पनि रासायनिक अस्त्र हमला नभएको जनाएको छ।

प्रयास

शनिवार सिरिया पुगेका अन्तराष्ट्रिय अनुगमनकर्ताहरूले रासायनिक अस्त्र प्रयोग भएको भनिएको स्थानका नमुना संकलन गर्न प्रयास गरिरहेका छन्।

सन् १९४६ मा आजकै दिन अर्थात् एप्रिल १७ मा सिरिया फ्रान्सबाट स्वतन्त्र भएको थियो।

त्यो दिन त्यहाँ खटिएका अन्तिम फ्रान्सेली सैनिकले सिरिया छाडेका थिए।

स्वतन्त्रता मनाउने दिनको केहीअघि मात्रै यो वर्ष ब्रिटिश, फ्रान्सेली र अमेरिकी हवाई हमालाहरूले सन्दिग्ध रासायनिक अस्त्र भएका स्थानहरूलाई निसाना बनाएको थियो।

पश्चिमा अधिकारीहरूले सिरियाली राष्ट्रपति बशर अल असदलाई आफूहरूले स्पष्ट सन्देश दिन चाहेको बताएका थिए।

पहुँच

तर असदले अहिले आफू पहिले भन्दा बलियो भएको स्पष्ट जवाफ दिइरहेका छन्।

हवाई आक्रमणपछि उनका समर्थकहरू दमास्कसको मध्य भागमा भेला भएका छन् र एउटा झण्डामुनी गोलबद्ध भएर पश्चिमा कारबाही विफल भएको भन्दै निन्दा गरिरहेका छन्।

तर डुमामा रासायनिक अस्त्र प्रयोग गरिएको भन्ने विवरण आएको एक हप्ता भन्दा बढि समय बित्दा पनि अझै प्रश्नहरू अनुत्तरित छन्।

रासायनिक अस्त्र प्रयोग सम्बन्धी अन्तराष्ट्रिय निगरानी समूह ओपीसीडब्लुका निरीक्षकहरूले उक्त क्षेत्रसम्म पहुँच पर्खिरहेका छन्।

Share Now

Leave a comment.