Prakash Adhikari April 17, 2018

काठमाडौं, ४ बैशाख । नेपाल सरकारको प्राथमिकतामा नपरेको क्रिश्चियन धर्म प्रचार प्रसार र विस्तार गर्ने संस्थाहरुलाई समेत समाज कल्याण परिषद्ले निर्वाध रुपमा काम गर्ने स्वीकृति दिएको पाइएको छ ।

हालै सार्वजनिक भएको महालेखा परीक्षकको ५५ औं. प्रतिवेदन २०७४ ले यस अगाडिका प्रतिवेदनले धर्मप्रचारको विषयलाई पनि खोतलेर सार्वजनिक गरेको छ । यस अगाडिका लेखा परीक्षक र प्रतिवेदनहरु मौन रहन रुचाएको यो विषयले वर्तमान संविधानमा धर्म निरपेक्षता कायम गर्न र नेपाली समाजमा हिन्दुधर्मको जग भत्काएर इशाईकरण गर्न भएको प्रयासलाई  उजागर गर्ने प्रयास गरेको छ ।

प्रतिवेदनको सारांश खण्डमा उल्लेख भए अनुसार बेलायतकोे टियर फण्ड नामक गैर सरकारी संस्थाले आफूले पेश गरेको कागजातमा संस्थाको उद्देश्य क्रिश्चियन शिक्षा र ज्ञानको प्रचार प्रसार गर्ने स्पष्ट किटानी सहित उल्लेख गर्दा समेत समाज कल्याण परिषद्ले उसलाई काम गर्ने अनुमति दिएको छ ।

महालेखाको परीक्षकको पचपन्नौ बार्षिक प्रतिवेदनको सारांशको बूदाँ नं १९३ मा अन्तराष्ट्रिय गैर सरकारी संस्थाको अनुगमनका सम्बन्धमा भएको लेखा परीक्षणको व्यहोरा उल्लेख गरिएको छ ।

प्रतिवेदन भन्छ, समाजकल्याण परिषद्बाट अनुमति लिई नेपालमा सञ्चालित अन्तराष्ट्रिय गैरसरकारी संस्थाबाट सम्पादित कामको अनुगमन गर्नुपर्दछ । यस सम्बन्धमा देखिएका केही व्यहोरा निम्नानुसार छन् :

१९३.१ परिषद्ले यो वर्ष(२०७४मा) ९० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजीओ) लाई रु.२९ अर्ब २ करोड ८४ लाख र ७४८ गैरसरकारी संस्था(एनजीओ)लाई रु.१८ अर्ब ९५ करोड १७ लाखको कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट प्राप्त सहयोग विकास सहायता नीतिले निर्धारण गरेको राष्ट्रिय प्राथमिकताको क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गर्ने व्यवस्था मिलाएको छैन ।

१९३.२ अन्तराष्ट्रिय सहायताको परिचालन गर्दा राष्ट्रिय प्राथमिकताका आधारमा परिचालन गर्ने गरी स्वीकृति दिनुपर्नेमा एक राष्ट्रिय गैरसरकारी संस्थाले पादरीलाई प्रशिक्षित गर्दै सबै हिन्दुलाई पादरीमा रुपान्तरण गर्न एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सन २०१५/१६ र २०१६/१७ को लागि रु.२ करोड १७ लाख सहायता लिन समाज कल्याण परिषद्सँग स्वीकृतिको देखियो ।

तीन जिल्लाका सीमान्तकृत समूहको जीवनस्तर सुधार एवं दिगो जीवनयापनको लागि सक्षमता अभिवृद्धि गर्न १४ जून २०१३ मा परिषद्सँग रु.५ करोड २४ लाखको परियोजना सम्झौता गरेको टियर फण्ड, बेलायतको संस्थागत उद्देश्यमा संसारभरका मानिसलाई गरिबी, पीडा र रोगबाट मुक्ति दिलाउदै क्रिश्चियन शिक्षा र ज्ञानको प्रचार गर्ने उल्लेख छ ।

महालेखा परीक्षकको विभागले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट प्राप्त हुने सहायता प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्ने नीति अनुरुप भए नभएको अनुगमन नगरेकोमा समाज कल्याण परिषद्को आलोचना पनि गरेको छ ।

Share Now

Leave a comment.