Prakash Adhikari April 18, 2018

 

मेघौली(चितवन),५ बैशाख । । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गरी अभिभावकत्व ग्रहण गरेका छन् ।

बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच सोही क्षेत्रका एक जना मुसहर र एकजना माझी समुदायका बालकहरुको अभिभावकत्व ग्रहण गर्दै माओवादी अध्यक्ष प्रचण्डले उनीहरुलाई विद्यालय भर्ना गरेका थिए ।

पूर्व प्रधानमन्त्री प्रचण्डको संरक्षकत्व पाउने बालकहरु पत्रुस मुसहर र अरुण माझी रहेका छन् ।

५ वर्षका पत्रुस मुसहर शिशु कक्षामा भर्ना भएका छन् भने ९ बर्षका अरुण माझी कक्षा १ मा भर्ना भएका छन् ।

कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले ल्याएको विद्यालय भर्ना राष्ट्रिय अभियानलाई सफल बनाउन सबैमा अपील गरेका थिए ।

कार्यक्रममा उनले वर्तमान शिक्षालाई आमूल परिवर्तन गरी स्वरोजगार र आत्मनिर्भर बनाउनु पर्ने बताए । उनले संविधानमा शिक्षालाई नागरिकको मौलिक हकका रुपमा राखेकोले यो अधिकार दिनु सरकारको कर्तव्य भएको बताए ।

कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले बालकलाई विद्यालयमा नियमित आउने वातावरण बनाउन अभिभावक र शिक्षकहरुलाई आग्रह गरेका थिए ।

Share Now

Leave a comment.