काठमाडौं, २७ श्रावण । नेपाल प्रहरीको सीआईबीमार्फत चलाइएको अपरेशन ललिता निवास सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु मुछिएका नक्कली शरणार्थी काण्ड, जलहरी काण्ड, सुनकाण्डहरुलाई छायाँमा पारेर आम नागरिकको ध्यान अन्यत्र मोड्न पूर्वाग्रहपूर्वक सुनियोजित तवरले सुरु गरिएको देखिएको छ ।
सीबीआईले यो कारबाही मिति ०७५ माघ २५ गते गृहमन्त्रालयले गरेको प्रस्तावमा तात्कालीन ओली सरकारले गरेको निर्णयले पाएको अधिकार अनुसार कारवाही थालेको जनाएको छ । गृहमन्त्रालयले सो प्रस्ताव पूर्वसचिव शारदाप्रसाद त्रितालको छानविन समितिले पेश गरेको प्रतिवेदन अनुसार लगेको थियो । तर ऐतिहासिक,राजनीतिक,न्यायिक र प्रशासनिक तथ्यहरुले सो प्रतिवेदनमा उल्लेखित विवरण र निश्कर्ष आधारहिन,तथ्यरहित,झूठो र पूर्वाग्रहयुक्त सावित भएको छ । यसैले सीबीआईले अहिले ललिता निवास प्रकरणमा गरेको धरपकड गैरकानूनी र अन्यायपूर्ण देखिएको छ ।
त्रिताल समितिले बालुवाटारको ललिता निवास क्याम्पाको २९९ रोपनी ९ आना २ पैसा जग्गा श्री ३ भीमसमशेरका नाति, जनरल हिरण्यसमशेरका सुपुत्र तथा नेपाली कांग्रेसका संस्थापक नेता,नेपालका पहिलो अर्थ तथा उपप्रधानमन्त्री सुवर्णसमशेर जवराको भएको स्वीकार गरेको छ । उहाँले आफ्नो अधिनमा रहेको सो दरबार र त्यसले चर्चेको जग्गा २०१७ साल आषाढ १५मा आफ्ना तीन छोरा कनकसमशेर, कञ्चनसमशेर, रुक्मसमशेरलाई ५७ रोपनीका दरले र श्रमती श्वेतप्रभालाई ५८ रोपनी वकसपत्र मार्फत अंशवण्डा गरिदिई बाँकी जग्गा आफ्नो नाममा राखेको पनि स्वीकार गरेको छ ।उसले वण्डापत्र पनि प्रतिवेदनमा राखेको छ । तर त्यसको ब्याख्या गर्न भने चुकेको छ ।
।
सो वण्डापत्र २०१७ आषाढ ३१ गते बिहिबार र.न. १५४७ मा पास भएको थियो ।यसको व्यहोरा यस्तो छ :-
लिखितम् श्री ३ महाराज भीम शम्शेर ज.ब.रा.को नाती श्री क. ज. हिरण्य शम्शेर ज.ब.रा.को छोरा का.ई. बालुवाटार ललिता निवास बस्ने बर्ष ५१ को क.ज. उपप्रधानमन्त्री सुवर्ण शम्शेर ज.ब.रा आगे तिमी पत्नी श्री श्वेतप्रभा देवी—१, छोरा कनक शम्शेर—१, कान्चन शम्शेर—१, रुक्म शम्शेर—१ देखि बाहेक मेरो अंश दिनुपर्ने अंशियार कोही नभएको हुनाले तिमी पत्नी, छोराहरुले मलाई सेवा टहल गरी रिझाएको र मेरा नामको बालुवाटार ललिता निवासको घरजग्गा मध्ये केही मलाई बाँकी राखी अरु बाँकी घरजग्गा तिमीहरुलाई छुट्टयाई एकलौटी हक हुने गरी बण्डापत्र लेखी दिने इच्छा भएको र सो बमोजिम लिनामा तिमीहरुको समेत मन्जूर भएको र ऐनले समेत दिन पाइने हुनाले मेरा हकभोग भित्रको तपसिल बमोजिमको घरजग्गा तिमी पत्नी श्री श्वेतप्रभादेवी—१, छोरा कनक शम्शेर—१, कान्चन शम्शेर—१, रुक्म शम्शेर—१ समेत जना ४ लाई तपसिलका घर जग्गा तपसिल बमोजिम हालैदेखि खान ब्यहोर्न पाउने गरी बण्डापत्र लेखिदिएको छु । बण्डा पाएको आफ्नो एकलौटी हक जानी लागेको तिरो भरो गरी भोगचलन गरी खानू,ब्योहोर्नू भनी मेरो मनोमान खुशीराजीसंग मेरो घर बैठकमा बसी यो बण्डापत्र लेखी चौ. कृष्णविक्रम शाहको नातिनी,चौ.छत्रविक्रम शाहको छोरी,काठमाडौं इलाका बालुवाटार बस्ने बर्ष ४५ को श्री श्वेतप्रभा देवी ज.ब.रा.—१, ऐ.ऐ.बस्ने बर्ष २९ को कनक शम्शेर —१,ऐ.ऐ. बस्ने बर्ष २६ को कान्चन शम्शेर —१, ऐ.ऐ.बस्ने बर्ष २१ को रुक्म शम्शेर —१ समेत जना चारलाई दियाँ । साक्षी फड्के किनारा लेखियाको सदर ।
तपसिल
तिमी पत्नी श्वेतप्रभा देवी भागको ……………………………………।जिज्यू बुबा श्री ३ महाराज भीम शम्शेर ज.ब.रा. का नाममा ८८ साल माघ २५ गतेमा भएको लालमोहर बमोजिमको मेरो हक हुन आएको विर्ता उन्मुलन ऐन बमोजिम रैकर परिणत भएको रैकर माल सरह तिरो लाग्ने आफैले कमाई घर क्याम्पा बनाई भोग चलन गरि आइएको का.ई. माल अड्डा दोश्रामा विवर्ण दाखिला गरी सकेको पूर्व महाराजगंज जाने सडक र आफ्नै पर्खाल,पश्चिम खेतबारी आफ्नै परखाल उत्तर रमा महारानी बाबा महारानीहरुको जग्गा र आफ्नै परखाल दक्षिण महाराजगंज जाने मूल सडक र जमुने ज्यापूले कमाएको जग्गा र आफ्नै पर्खाल यति चार किल्ला भित्रको बालुवाटार जग्गा रोपनी २८७ । ७ ।। २ ।। मध्ये जग्गा रोपनी ५८ र सोही जग्गामा बनेको उत्तरदक्षिण १९४ फुट लम्बाई पूर्वपश्चिम २४’४ फुट चौडाई भएको तीन तले पक्की जस्ता टायल छाना भएको घर सोही जग्गामा दक्षिण कुनामा बनेको उत्तर दक्षिण लम्बाई फुट ८६,पूर्वपश्चिम चौडाई फूट १९ भएको २ तल्ले पक्की टायल छाना भएको र ती संगै पूर्वतर्फ जोडिएको पूर्वपश्चिम लम्बाई फूट ६० र उत्तर दक्षिण चौडाई फुट १९ को २ तल्ले र सो संगै पूर्व जोडिएको पूर्वपश्चिम लम्बाई फुट ३३’१० र चौडाई २३’ ८ को तीन तल्ले समेतको पक्की घर र सो घरले चर्चेको बग्गीखाना ग्यारेज घर समेत ।
छोरा कनक शम्शेर ज.ब.रा.ले खान ब्यहोर्न पाउने……………।
सोही माथि लेखिएको चार किल्ला भित्रको जग्गा रोपनी २८७ । ७ ।। २ ।। मध्ये जग्गा रोपनी ५७ ।। र सो जग्गामा बनेको दक्षिण मोहोडा पूर्व पश्चिम लम्बाई फुट १४८, उत्तरदक्षिण चौडाई फुट २४ भएको ४ तल्ले दुई नाले पक्की टायल जस्ताको घर समेत ..।छोरा कन्चन शम्शेर ज.ब.रा.ले खान ब्यहोर्न पाउने…………।
सो माथि लेखिएको चार किल्ला भित्रको जग्गा रोपनी २८७ । ७ ।। २ ।। मध्ये जग्गा ५७ ।। र सो जग्गामा बनेको पूर्व मोहोडा उत्तर दक्षिण लम्बाई फुट २०६’८ पूर्वपश्चिम चौडाई फुट ४१’३ भएको दुई नाले ३ तल्ले पक्की गारो टायल छाना भएको घर समेत ….।छोरा रुक्म शम्शेर ज.ब.रा.ले खान ब्यहोर्न पाउने ….।
सो माथि लेखिएका चार किल्लाभित्रको जग्गा रोपनी २८७ । ७ ।। २ ।। मध्ये जग्गा ५७ ।। र सो जग्गामा बनेको उत्तर मोहोडा पूर्वपश्चिम लम्बाई फुट १३९ उत्तर दक्षिण फुट ४५ भएको ३ तल्ले पक्की गारो टायल छाना भएको २ नाले ३ तल्ले घर र सो संगै दक्षिण पश्चिम उत्तरतर्फ संगै जोडिएको ६८’४ चौडाई फुट १७’५ भएको एकनाले ३ तल्ले पक्की गारो जस्ता छाना भएको घर समेत…..।
इति सम्वत् २०१७ साल आषाढ १५ गते रोज ७ शुभम् ।
तर विशेष परिस्थिति ऐन २०१७ अनुसार ती मध्ये नेता सुवर्णसमशेर जवरा र उहाँका माहिला सुपुत्र कञ्चनसमशेर जवराको दुई अंश जफत हुँदा कति क्षेत्रफल जग्गा जफत भयो भन्ने विषयमा त्रिताल समिति प्रवेश नै गरेको छैन । ललिता निवास क्याम्पाले चर्चेको जग्गाको गणना गर्दा ५८ रोपनी ७ आना २ पैसा जग्गा सुवर्ण शमशेरको नाममा रहन गएको देखिन्छ । २९९ रोपनी ९ आना २ पैसा जग्गा मध्ये ललिता निवास दरबार र अन्य घर ग्यारेजले १२ रोपनी २ आना जति जग्गा ओगटेको देखिन्छ ।
२०१८ सालमा विशेष परिस्थिति ऐन अन्तरगत सूचना सार्वजनिक भएपछि सुवर्ण र कान्चन समशेरको भागको घरजग्गा सम्पूर्ण कब्जा भएको छ । सो सूचना अनुसार पनि कञ्चन शमशेरको ५७ रोपनी र सुवर्ण शमशेरको ५८ रोपनी ७ आना २ पैसा जग्गा २०१८ सालको गृहको सूचना अनुसार ललिता निवासको ११५ रोपनी ७ आना २ पैसा जग्गा राज्यले जफत गरेको देखिन्छ ।
सर्वश्व हरण र जन्म कैद भएको व्यक्तिको मुआब्जा दिन्छ सरकारले ?
२०१७ सालको काण्डपछि नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णले पुस १८ मा र माघ ५ मा कडा विज्ञप्ति जारी गरी राजाको कदमको विरोध गर्दै कांग्रेस कार्यकर्ताहरुलाई निरंकुश शासनका विरुद्ध आन्दोलनको लागि तयार रहन आह्वान गर्नुभयो। २०१७ माघ १२ देखि १४ गतेसम्म दरभंगा९पटना०मा पाटीको सम्मेलन गरेर पार्टीको सभापतित्व ग्रहण गरी र सशस्त्र आन्दोलनको उद्घोष गर्नुभयो । नक्सलबाडी, बलरामपुर,नटकटियागञ्ज, दार्जलिड। ,दरभंगालगायत ८ ठाँउमा लडाकू क्याम्प खडा गर्नुभयो । आवश्यक तयारी पूरा भएपछि २०१८ कार्तिकमा सशस्त्र आन्दोलन सुरु भयो । यही सशस्त्र क्रान्तिको दौरान २०१८ माघ २६ मा चितवनको भरतपुर,पूर्वको च्याड।थाप,पश्चिमको गुल्मी र बझाड.मा नेपाली कांग्रेसका लडाकूहरुले आक्रमण गरे । भरतपुर कब्जा भयो । २०१८ माघ २८ मा नेपाली सेनाद्धारा भरतपुरमा प्रत्याक्रमण भयो। २६ कांग्रेसी योद्धाले सहादत प्राप्त गरे ८८ जनालाई सजाँय भयो ।
भरतपुर आक्रमणको घट्नापछि नेपाली कांग्रेस र खासगरी त्यसका सभापति सुवर्णसमशेरसग तर्सिएका राजा महेन्द्रले २०१८ फागुन १९ मा सुवर्णसमसेर लगायत ७६ जना काग्रेस नेताहरुलाई विशेष परिस्थिति ऐन २०१७ अनुरुप् २१ दिनभित्र आआफ्नो घरद्धारमा आई बस्न आदेश जारी गरे । र सम्पत्ति कब्जाको आदेश पनि जारी गरियो ।
२०१८ चैत्र १० मा कम्युनिष्ट नेता पुष्पलाल र सुवर्णका माहिला छोरा कञ्चनसमशेर जवरासहित ८३ जनालाई सोही आदेश दिइयो ।
विशेष परिस्थिति ऐन २०१७ मा त्यस्तो सूचनामा परेका व्यक्तिहरु आफ्नो घरद्धारमा आइनबसेमा घरजग्गा र सम्पत्ति जफत हुने व्यवस्था थियो ।
२०१७ सालको काण्डको लगत्तै नेपाल आउनुभएकी बेलायतकी महारानी एलिजावेथ द्धितीयको भ्रमणमा फर्पिड.मा बम प्रहार गरेको र सशस्त्र संघर्ष गरेको र राजा महेन्द्रलाई जनकपुर र वीरगञ्ज भ्रमणको अवसरमा बम हान्न कार्यकर्ताहरुलाई दुरुत्साहन गरेको जस्ता आरोपमा सुवर्णमाथि राजकाज विरुद्ध ऐन,आर्तकारी एवम् विध्वंसात्मक ऐन अन्तरगत मुद्दा चलाइएको थियो । जसमा उहाँलाई २०१९ सालमा सर्वश्वसहित जन्मकैदको सजाँय भएको थियो ।
सर्वोच्चका न्यायाधीश दिलिपकुमार पौडेल र केदारप्रसाद गिरीको संयुक्त बेञ्चले मोहीयानी सम्बन्धी एक मुद्दाको फैसलामा सुवर्ण समशेर जबरालाई तात्कालीन विशेष अदालतले २०१९साल असार २३ गते सर्वश्वसहित जन्मकैदको फैसला गरेको उल्लेख गरेको छ । अदालतकै फैसलामा उल्लेख भए बमोजिम सुर्वणको सजाय २०४६ सालमा प्रजातन्त्रको पुर्नबहाली भएपछि २०४७ सालमा नेपाली कांग्रेसका सभापति सन्त नेता कृष्णप्रसाद भट्टराईको सरकारको सिफारीशमा स्व. श्री ५ महाराजाधिराज बीरेन्द्रबिरविक्रम शाहबाट भएको व्यहोरा अख्तियारबाट यस बिषयमा मन्त्रिपरिषद्मा सोधनी गर्दा दिइएको उत्तरमा पाइन्छ ।
अब प्रश्न उठ्छ राज्यले राजकाज मुद्दामा दोषी ठहर गरी सर्वश्व हरण गरेर जन्मकैद गरेको व्यक्तिलाई उसको हरण गरिएको जग्गाको मुआब्जा दियो होला ? सर्वश्व हरण गर्नुको अर्थ खानलाउन नपाएर संघर्ष त्यागेर घुँडाटेकेर सत्तासंग झुकुन र संझौता गरुन भन्ने हो । राजालाई नै मार्न अग्रसर भएको व्यक्तिलाई उनको हरण गरिएको सम्पत्ति फिर्ता नगरी कैदको सजाँय मिन्हा नगरी मुआब्जाको रकम दियो भनेर कल्पना समेत गर्न सकिदैन ।
नेपाली सेनामा नै रहेका सुवर्णका जेठा छोराले आफ्नो पिताले ०१७ सालमा बकस पत्रबाट अंशवण्डा गरिदिएको ५७ रोपनीको मुआब्जा बुझेको पनि देखिदैन । उनले घरघरेडीका लागि माग गर्दा जम्ममो १२ रोपनी जग्गा पाएको देखिन्छ । जसको भाषा हेर्दा जग्गा अधिग्रहणका लागि सूचना जारी भएको,सरकारले मुआब्जाको दर निर्धारण गरेको तर सुवर्णको सन्तान र अंशीयारले त्यस्तो मुआब्जा नबुझेको प्रष्ट देखिन्छ ।
अहिले नेपालका कुनै पनि राजनीतिक दल लोकप्रिय छैनन् । एक बर्षपहिले स्थानीय,प्रदेश र संघीय संसदको निर्वाचनबाट आएका दलका नेताहरु पनि विभिन्न भ्रष्टाचार मुद्दामा मुछिएका छन् । सरकारलाई सचेत राख्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष देशका हरेक ठूला भ्रष्टाचार काण्डमा जोडिनुभएको देखिन्छ । हालै सार्वजनिक भएको एक क्वीन्टल सुनकाण्डमा नेकपा माओवादीका शीर्ष नेताहरु मुछिएका छन् । गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग भएको छ । त्यस्तो राजिनामा माग गर्ने सांसदलाई सीआईबी नै लगाएर पक्राउ गरिएको छ । आफूमाथि लागेका आरोपबाट जनताको ध्यान अन्यत्र मोड्न सत्ता र प्रतिपक्षका नेताहरु मिलेर सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने कर्मचारीलाई फसाउन अख्तियारले एकपटक हेरिसकेको विषयमा कीर्तेमा काण्डमा फसाउन खोजिएको छ । यसमा सुवर्णको सर्वश्वहरणमा परेको जग्गा फिर्ता ल्याउन कुनै भूमिका नै नभएका र आफ्नो रगत पसिनाले अन्य व्यवसाय गरेर रकम आर्जन गरी कर तिरेर बाँकी बचेको पैसाले जग्गा खरिद गर्ने व्यवसायीहरु पनि पारिएका छन् । उनीहरुलाई सताएर सिंगो निजी क्षेत्रलाई तर्साउन खोजिएको हो कि यसको मनशाय अर्कै हो अझै उजागर भएको छैन ।