जोनाथन हेड । बीबीसी न्यूज, ब्याङ्कक
काठमाडौं, २७ श्रावण । देशमा नयाँ सरकार गठन गर्ने सन्दर्भमा जारी खिचातानीको समाचार सुनिरहेका थाई नागरिकहरूको ध्यान यो साता एउटा अलि भिन्न घटनातिर आकृष्ट भएको छ। संयुक्त राज्य अमेरिकाबाट २७ वर्षपछि पहिलो पटक आफ्नो जन्मथलो फर्किएका एक वकिलबारे अहिले त्यहाँ चर्चा र चासो उत्पन्न भएको छ।
बयालीस वर्षीय वाचरेसोर्न वाचरोङ थाई राजा महा वाचिरालोङ्कोर्नका माइला छोरा हुनुहुन्छ। थाई राजाका चार छोराहरू उहाँसँग बस्नुहुन्न। जसमध्ये वाचरेसोर्न वाचरोङ पनि हुनुहुन्छ। चारै जनाको शाही उपाधि खोसिएको र सबैलाई थाई राजगद्दीको उत्तराधिकारी नमानिएको ठानिन्छ।
राजाकी जेठी छोरी राजकुमारी पचरगीतियापा उहाँकी उत्तराधिकारी बन्न सक्ने ठानिन्थ्यो। तर गत डिसेम्बरमा अकस्मात् मूर्च्छित भएपछि थाई राजगद्दीको विषय अप्ठ्यारोमा परेको छ। राजकुमारी पचरगीतियापा अझै मूर्च्छित हुनुहुन्छ र पूर्णतः निको हुन सम्भावना कम देखिन्छ।
थाईल्यान्डमा वर्षौँदेखि राजाले आफ्ना कुनै एक छोरालाई फिर्ता बोलाउने र शाही भूमिका निर्वाह गर्न लगाउन सक्ने विषयबारे चर्चा हुँदै आएको छ।
को हुन् वाचरेसोर्न वाचरोङ ?
वाचरेसोर्न वाचरोङले ब्याङ्ककस्थित बौद्ध मन्दिरको पनि भ्रमण गर्नुभयो ।
वाचिरालोङ्कोर्न र उहाँकी दोस्री पत्नी सुचारिनीबाट पाँच सन्तान जन्मिएका थिए।
तीमध्ये वाचरेसोर्न वाचरोङ माइला हुनुहुन्छ ।
सुचारिनी पूर्वअभिनेत्री हुनुहुन्छ। उहाँको तात्कालिक युवराज र अहिलेका राजा वाचिरालोङ्कोर्नसँग सन् १९९६ मा सम्बन्धविच्छेद भएको थियो।
त्यतिबेला वाचरेसोर्न वाचरोङसहित चार दाजुभाइ यूकेस्थित विद्यालयमा पढ्नुहुन्थ्यो।
आमा र बुवाको सम्बन्धविच्छेद भएपछि उहाँहरू आमासहित देशनिकालामा पर्नुभयो। सबै संयुक्त राज्य अमेरिकामा बस्न थाल्नुभयो।
वाचरेसोन वाचरोङले एउटा बालस्याहार केन्द्रको भ्रमण गर्नुभयो ।
उहाँकी कान्छी बहिनी सिरिवन्वरीलाई भने बुवासँग बस्न थाईल्यान्ड फिर्ता ल्याइएको थियो।
विगतमा चार दाजुभाइले बेलाबखत आफ्ना बुवासँग मेलमिलाप र थाईल्यान्ड फर्किने अनुमतिका लागि आग्रह गर्दै पत्रहरू प्रकाशित गर्दै आउनुभएको थियो। तर त्यसको कुनै प्रभाव परेको देखिँदैनथ्यो।
थाईल्यान्डमा के गर्दै छन् ?
थाईल्यान्ड आएपछि वाचरोङले सुरुका केही दिन पर्यटकले जसरी घुमेर बिताउनुभयो।
ब्याङ्कक सहर घुम्ने क्रममा उहाँले मन्दिरहरूमा दर्शन गर्नुभयो , थाई परिकार चाख्नुभयाो । र टुकटुक भनिने तीनपाङ्ग्रे सवारीसाधन चढ्नुभयो।
पत्रकारहरूसँग कुरा गर्दै उहँले स्वदेश फर्किँदा आफ्नो सपना साकार भएको बताउनुभयो।
उहाँ औपचारिकजस्तो देखिने कार्यक्रममा पनि सहभागी हुुनुभयो।
उहाँले बौद्ध सङ्घका सर्वोच्च संरक्षक तथा थाईल्यान्डका सबैभन्दा ठूला धार्मिक व्यक्तित्वसँग भेटघाट गर्नुभयो । अनि राजदरबारले आर्थिक सहायता उपलब्ध गराएको एउटा बालस्याहार केन्द्रको भ्रमण गर्नुभयो।
थाईल्यान्डमा बौद्ध सङ्घका सर्वोच्च संरक्षक राजाबाट नियुक्त हुन्छन्।
धेरै थाई नागरिकले यी गतिविधिलाई उहाँ शाही उत्तरदायित्व वहन गर्ने भूमिकामा फर्किन सक्ने सङ्केत मानेका छन्।
कस्तो छ वाचरेसोर्न वाचरोङको छवि ?
अमेरिकामा बस्ने चार दाजुभाइमध्ये वाचरेसोर्न वाचरोङ सर्वाधिक परिचित व्यक्तित्व मानिनुहुन्छ ।
उहाँ थाई समुदायमा निकै सक्रिय देखिनुहुन्छ र थाई राजतन्त्रको खुलेर समर्थन गर्नुहुन्छ।
राजपरिवारमा शाही उत्तरदायित्व वहन गर्न उहाँलाई सबैभन्दा उपयुक्त र इच्छुक व्यक्ति मानिन्छ।
राजकुमारी पचरगीतियापा राजगद्दीकी उत्तराधिकारी बन्न सक्ने ठानिन्थ्यो ।
गत वर्ष अचेत नहुँदासम्म राजकुमारी पचरगीतियापालाई थाईल्यान्डमा बसोबास गर्ने राजसन्ततिमध्ये सर्वाधिक उपयुक्त पात्र मानिन्थ्यो।
उहाँ वकिल हुनुहुन्छ र उहाँले संयुक्त राष्ट्रसङ्घ र अस्ट्रियाका लागि थाई राजदूतको भूमिका निर्वाह गरिसक्नुभएको थियो।
राजाका कान्छा छोरा राजकुमार थिपङ्कोर्न १८ वर्षका हुनुहुन्छ । उहाँ लेखपढ गर्न कठिन हुने समस्याबाट पीडित भएको ठानिन्छ।
पिताको मृत्यु भएपछि राजकुमारी पचरगीतियापाले राज्यसहायक भई वा आफैँ राजगद्दीमा बसी शासन गर्ने अनुमान गरिएको थियो।
थाईल्यान्डमा उत्तराधिकारसम्बन्धी कानुनले राजालाई आफ्नो उत्तराधिकारी छान्ने अधिकार दिएको छ। तर राजा महा वाचिरालोङ्कोर्नले अहिलेसम्म आफ्नो उत्तराधिकारी छान्नुभएको छैन।
को बन्ला थाई राजाको उत्तराधिकारी ?
वाचरोङ अमेरिकामा सफल र चर्चित व्यक्तिका रूपमा स्थापित हुनुहुन्छ।
के राजाको उत्तराधिकारी बन्न उहाँ उपयुक्त पात्र प्रमाणित हुनुहोला त ? यसबारे केही भन्न निकै हतार हुन्छ।
उहाँको यो भ्रमणलाई त्यसबारे जाँच गर्ने पहिलो कदम मानिने छ।
फेरि पछि पनि थाईल्यान्ड भ्रमणमा आउँदा उहाँप्रति सर्वसाधारणको दृष्टि कस्तो हुन्छ अनि थाई राजदरबारको कडा शिष्टाचार र जटिल राजनीतिले कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी नै छ।
राजा महा वाचिरालोङ्कोर्नले गत महिना आफ्नो ७१औँ जन्मदिन मनाउनुभयो ।
यस विषयमा राजा वाचिरालोङ्कोर्नको धारणा थाहा पाउन असम्भवप्रायः छ।
उहाँको भित्री घेरामा मानिसहरू अकस्मात् भित्रिने र बाहिरिने गरेको देखिन्छ। कहिलेकाहीँ केही मानिसहरू सार्वजनिक जीवनबाट हराएका पनि छन्।
राजाका यी छुट्टिएका छोरालाई फिर्ता ल्याउने प्रयास जसले गरेका छन् तिनले यो सतर्कतापूर्वक नै गरेको हुनुपर्छ।