काठमाडौं, ७ बैशाख । काठमाडौंबाट क्वालालम्पुर जान उड्नका लागि गुड्नेक्रममा रनवेबाट घाँसे मैदानमा चिप्लिएको मालिन्दो एअरको जहाजलाई नेपाली प्राविधिकहरुले दुर्घटना स्थलबाट हटाएर सुरक्षित स्थानमा पुर्याएका छन् ।
जहाजलाई बेलुन र डोरीको सहायताले घाँसे मैदानबाट उठाएर रनवेमा ल्याई सुरक्षित स्थानमा लगिएको थियो ।
विमानस्थल प्रशासनका प्रेमनाथ ठाकुरले जहाज हटाइएकाले १२ बजेपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने जानकारी दिएका छन् ।
मालिन्दो एयरको उक्त जहाज मलेशिया उडान भर्ने क्रममा बिहीबार बेलुका १० बजेर ७ मिनेटमा रनवेबाट अनियन्त्रित भएर ४० मिटर कोटेश्वर खण्डको घाँसे मैदानमा पुगेको थियो।
उक्त घटनापछि अन्तर्राष्ट्रिय उडान बन्द भए पनि आन्तरिकतर्फका उडान भने बिहानदेखि नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।
मलेशिया उड्न लागेको मालिन्दो एयरको जहाजमा १ सय ३९ यात्रु रहेका थिए ।