विर्तामोड(झापा), ७ बैशाख(बीबीसी) । बर्सेनि ८ हजार आँखाका नानीको माग पूर्ति गर्ने उद्देश्यका साथ झापाबाट आँखाको नानी दान गर्ने अभियानको थालनी गरिएको छ।
आँखाको नानी दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेकाहरूको मृत्युपछि आँखा प्राविधिकले आँखाको नानी झिक्नेछन् र काठमाण्डूस्थित तिलगङ्गा आँखा ब्याङ्कमा पठाउनेछन्।
आँखाको नानी दान गर्ने इच्छापत्रमा हस्ताक्षर गर्नेहरूमा वृद्धवृद्धा समेत उल्लेख्य रूपमा सहभागी भएका छन्।
केही दिनअघि विर्तामोडमा भएको आँखाको नानी दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेका स्थानीयवासी ८७ वर्षीय कृष्णप्रसाद ओलीले भने, “म मरेपछि पनि मेरा आँखाले कसैले देख्छ भने त्यो सबभन्दा पूण्य काम हो भनेर मैले आँखा दान गर्ने निर्णय गरेको हुँ।”
महत्त्वपूर्ण
त्यही दिन २ सय ५० जनाले आँखाका नानी दान गर्नका लागि इच्छापत्रमा हस्ताक्षर गरेका थिए।
झापाको अर्जुनधारा नगरपालिका सिस्नेकी ६३ वर्षीया गङ्गामाया चापागाईँले भनिन्, “आँखा दान नै सबभन्दा महत्त्वपूर्ण दान भएकोले मैले आँखा दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेँ।”
देहान्त लगत्तै आँखाका प्राविधिकहरूले मृतकको आँखाको नानी निकालेर आँखा ब्याङ्कमा पठाउनेछन्।
त्यसका लागि विर्तामोडस्थित मेची आँखा अस्पतालले प्राविधिक काम गरिरहेको अस्पतालका निर्देशक डा. पुरूषोत्तम जोशीले बताए।
उनले भने, “नजिकका आफन्तले खबर गरेपछि मृतकको आँखाका नानी झिकेर हामी तिलगङ्गा आँखा ब्याङ्कमा पठाउँछौँ।”
विराटनगर आँखा अस्पतालका आँखाको नानीसम्बन्धी रोगका विशेषज्ञ डा. सञ्जय सिंहका अनुसार गाउँ-घरमा घाँस दाउरा लिन जाँदा पातले आँखाको नानी बिगार्न सक्छ।
उपलब्ध
कोहीकोहीको जन्मजात आँखाको नानी बिग्रेको पनि हुन सक्ने उनले बताए।
केहीको आँखाको नानी पठाएर पनि प्रत्यारोपण भइसकेको तिलगङ्गा आँखा ब्याङ्कका व्यवस्थापक शंखनारायण त्वायनाले बताए।
उनले थपे, “पूर्वी क्षेत्रबाट पनि हामीले आँखाको नानी पाउन थाल्यौँ भने आँखाको नानी बिग्रेर आँखा देख्न नसक्नेहरूले त्यो पाएर देख्न सक्ने हुन्छन्।”
इच्छापत्रमा हस्ताक्षर गरेकाहरूको देहान्तपछि आफन्तले प्राविधिकहरूलाई सम्पर्क नगरिदिएमा आँखाको नानी सङ्कलन हुन नसक्ने सम्भावना पनि उतिकै रहेको नेत्र चिकित्सकहरू बताउँछन्।
नेपालमा बर्सेनि कम्तीमा ८ हजार आँखाका नानी चाहिने भए पनि त्यसको १० प्रतिशत मात्रै उपलब्ध हुने गरेको तिलगङ्गा आँखा ब्याङ्कले जनाएको छ।