Prakash Adhikari September 4, 2023

 

क्वाललम्पुर(मलेशिया), १८ भाद्र ।  मलेसियामा जारी आइसीसी महिला टी २० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपाललाई कतारले  ७५ रनको  लक्ष्य प्रस्तुत गरेको छ ।

 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो । कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१  रनको योगदान दिइन् । उनलाई इन्दुले एलबीडब्लू आउट गरेकी थिइन् ।

 

१७ औं ओभरमा इन्दुले तीन विकेट लिँदै कतारलाई  रोक्ने आधार तय गरेकी थिइन् । इन्दुले तेस्रो बलमा साची, पाँचौं बलमा ट्रप्टी काले र अन्तिम बलमा श्रुतिबेन कमलेशभाइ रानालाई आउट गरेकी थिइन् ।

कतारकी ओपनर एलिना खान २५ बलमा १ चौकासहित १५ रनमा इन्दु बर्माबाट रन आउट भएकी थिइन ।

 

अर्की ओपनर खदिजा अहमद ४ बलमा १ चौकासहित ४ रन बनाउँदै पुजा महतोको बलमा एलबीडब्लू आउट भइन् ।

 

एन्जिलेने मोरे १८ बलमा २ चौकासहित १४ रनमा नट आउट रहिन् । इन्दुले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । पुजा महतो र कविता जोशीले एक एक विकेट लिए ।

 

नेपाली खेलाडीहरु यो खेल जित्नेमा विश्वस्त छन् ।

Share Now

Leave a comment.