Prakash Adhikari April 21, 2018

काठमाडौँ, ८ वैशाख । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको पदाधिकारी,केन्द्रीय सदस्य र विभागमा छिट्टै मनोनयन गर्ने बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले नयाँ वर्षका अवसरमा शनिवार राजधानीमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँलेसो कुरा बताउनु भएको हो ।

कांग्रेस सभापति देउवाले पार्टीभित्रको अन्र्तघातका कारण २० भन्दा धेरै नेताले निर्वाचनमा पराजय भोगेको भन्दै अब पार्टीलाई विवादरहित तवरले एकढिक्का बनाएर अगाडि लैजाने बताए । उनले दुई ठूला कम्युनिष्ट पार्टी एक भएको र काँग्रेसभित्रको अन्तरघातले पार्टी पराजित भएको तर्क दिएका थिए ।

उनले कम्पुनिष्टहरुले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्न लागेको पनि बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्न खोजेको आरोप लगाए ।

“अधिनायकवादी र सर्वसत्तावादी कम्युनिष्ट पार्टीको खिलापमा काँग्रेस एकजुट भएर लाग्नुपर्छ,”– उनले भने ।

उनले प्रदेशसभा र प्रतिनिधि सभामा पार्टीले भोग्नुपरेको पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लाग्नुपर्ने बताए । पार्टीभित्र देखिएको छाडातन्त्रबाट काँग्रेस चल्न नसक्ने उनको भनाइ थियो ।

पार्टीका महामन्त्री डा सशांक कोइरालाले पार्टीलाई एकढिक्का बनाएर लैजान सभापतिलाई आग्रह गर्दै भने “इतिहास, विचार र कार्यकर्ता भएको पार्टीले यी तीनै कुरालाई जनतामाझ लैजान सकेमात्र काँग्रेसको भलो हुन्छ । ”

महामन्त्री डा कोइरालाले काँग्रेसले अहिलेसम्म गरेको राम्रो कामलाई कार्यक्रम बनाएर जनतामाझ लैजानुपर्ने बताए ।
पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक पार्टी विधिसम्मत ढंगले चल्न नसक्दा निर्वाचनमा पराजय भोगेको बताए ।

उनलेदुई पार्टी मिलेर काँग्रेस हारेको भन्नु सतही तर्कमात्र भएको बताए ।

नेता सिंहले निर्वाचन भएको दुई महिनामा पदाधिकारी, केन्द्रीय समिति र विभाग गठन गर्नुपर्ने भए पनि पार्टी नेतृत्वबाट उक्त काम हुन नसक्दा धेरै कार्यकर्ताले काम नपाएको स्मरण गराए ।

कार्यक्रममा केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले काँग्रेसभित्र वृहद एकता आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले एउटै व्यक्तिलाई बारम्बार अवसर दिने र पार्टी र संगठनमा काम गरेका व्यक्तिलाई अवसरबाट वञ्चित गर्दा पार्टी कमजोर बन्दै गएको बताए ।
केन्द्रीय सदस्य अम्बिका बस्नेतले इकाइदेखि केन्द्रसम्मका व्यक्तिले आफ्नो भूमिका निर्वाह गर्न लागेमात्र पार्टीलाई बलियो बनाउन सकिने बताइन ।

केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी हारको जिम्मा पार्टी सभापतिले लिनुपर्ने भन्दै काँग्रेस अब संगठन बलियो बनाउने र भोट बढाउने बाटोमा लाग्नुपर्ने बताए ।

पूर्वमन्त्री भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतले पार्टीभित्र झगडाभन्दा बहश गरेर अगाडि बढेमात्र पार्टी सफल हुने बताइन् ।

एकदिने भेलामा पार्टी जिल्लाका नेता तथा कार्यकर्ताबाट आएको सुझावलाई समावेश गरी केन्द्रीय समितिमा पठाइने काठमाडौँ काँग्रेसका सभापति सवुज बानियाँले जानकारी दिए ।

Share Now

Leave a comment.