काठमाडौं, ८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपालको भ्रमणमा आउने भएका छन् ।
उनले नेपाल भ्रमणका क्रममा रा जर्षि जनकको राज्यको केन्द्र तथा मर्यादापुरुष भगवान रामकी पत्नि सीताको जन्मस्थान जनकपुर पुगेर जानकी मन्दिरको पनि दर्शन गर्ने छन् ।
नेपालसँगको बिग्रेको सम्बन्ध सुधार को प्रत्यनस्वरुप मोदीको नेपाल भ्रमण हुन लागेको समाचार हिन्दुस्तान टाइम्सले छापेको छ ।
हिन्दुस्तान टाइम्सले मोदीले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने पनि जनाएको छ ।
प्रधानमन्त्री ओली दिल्ली पुगेर फर्केको डेढ महिनाको अवधिमा नै भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री ओलीले यही अप्रिल ६ देखि ८ सम्म भारतको राजकीय भ्रमण गरेका थिए ।
सार्क सम्मेलनको अवसरमा उनी नेपाल आउदा जनकपुर, लुम्बिनी र मुक्तिनाथ जाने कार्यक्रम अन्तिम समयमा स्थगन गरिएको थियो ।
सन् २०१५ मा नेपालले संविधान जारी गरेपछि भारतीय पक्षले असन्तुष्टि जनाउँदै मधेश आन्दोलनलाई आधार बनाएर ६ महिना नेपालमा नाकाबन्दी गरेको थियो ।
प्रधानमन्त्री मोदीको यो भ्रमणको अवसर पारेर भारतको सरकारी स्वमित्वको सतलज विद्युत निगमले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास हुने संभावना पनि छ ।
यता परराष्ट् मन्त्रालयले भने बैशाखको अन्तिम हप्तादेखि जेठको दोस्रो हप्तासम्ममा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने तर तिथिमिति तय भैनसकेको बताएको छ ।