इस्लामाबाद(पाकिस्तान), १२ असोज(बीबीसी) । पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको एउटा विस्फोटनमा परेर कम्तीमा ५० जनाको मृत्यु भएको प्रहरीले बीबीसीलाई बताएको छ। उक्त घटनामा परेर अरू ५० जनाभन्दा बढी घाइते भएका छन्।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिन मनाउन मानिसहरू भेला भएको एउटा मस्जिदबाहिर ठूलो विस्फोटन भएको थियो।
प्रहरीले मास्तुङ सहरमा धार्मिक भेलालाई लक्ष्य बनाएर आत्मघाती आक्रमण गरिएको आशङ्का गरेको छ।
अधिकारीहरूले त्यहाँ सङ्कटकाल घोषणा गरेका छन्।
उक्त घटनामा हताहत भएका मानिसलाई दुइटा स्थानीय अस्पतालमा लग्न थालिएको प्रहरीले जनाएको छ।
मास्तुङ सहरका दुई प्रहरी अधिकारीले बीबीसीलाई मृतकहरूको सङ्ख्याबारे जानकारी दिएका हुन्।
पाकिस्तानका आन्तरिक मामिला मन्त्री सरफराज बुक्टीले उक्त आक्रमणलाई निकै क्रूर कृत्यको सङ्ज्ञा दिनुभएको छ।
सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा घाइतेलाई आपत्कालीन सेवाका कर्मचारी र स्थानीय मानिसहरूले उद्धार गरेको देखिन्छ।
अहिलेसम्म कुनै समूहले पनि उक्त आक्रमणको जिम्मेवारी लिएको छैन।