गोठगाउँ(मोरड.), १२ असोज । नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा खुलेको छ ।
नवस्थापित गोठगाँउ शाखाको उद्घाटन प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोईराला, नबिल बैंकका सञ्चालक उपेन्द्र पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रुपमा गर्नुभएको थियो ।
समुद्घाटन मन्तव्यमा नबिल बैंकका संचालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाँउ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा स्थापना गरिएको बताउनुभयो ।
उहाँले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताउदै स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने उल्लेख गर्नुभयो ।
पूर्वाञ्चल विश्वविद्यालय केन्दीय कार्यालय परिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानीयवासी समेत लाभान्वित हुने कुरा उहाँले बताउनुभयो ।
समुद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाँउमा बैंकको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय रहेको उल्लेख गर्नुभयो । ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ । साथै निकट भविष्यमा नै विश्वविद्यालयको अडिटोरियम हल निर्माणको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गर्नेमा हामी प्रतिबद्ध रहेका छौं,’ ढुंगानाले बताउनुभयो।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २ सय ६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३ सय १० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।
कार्यक्रममा पूूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङ्गका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे लगायत बैंकका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।